काठमाडौं । जलविद्युत् आयोजना सञ्चालनका लागि अत्यावश्यक सेयर लगानी रोकिएपछि देशको ऊर्जा विकासमा गम्भीर संकट देखा परेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, पछिल्ला २८ महिनादेखि प्राथमिक सेयर (आईपीओ) जारी हुन नसक्दा अधिकांश जलविद्युत् आयोजना ठप्प अवस्थामा पुगेका छन्।
इप्पानले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै जनाएको अनुसार, अहिले देशभरका ९७५ मेगावाट बराबरका ४३ जलविद्युत् कम्पनीले आईपीओ पर्खिरहेका छन्। साथै, ७ कम्पनीको राइट सेयर निष्कासन पनि रोकिएको छ।
यसरी ५० वटा कम्पनीको सेयर निष्कासन अड्किँदा करिब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको लगानी अवरुद्ध भएको इप्पानले बताएको छ। यो अवस्थाले ऊर्जा क्षेत्रमा पूँजी प्रवाह नै रोकिँदा, आयोजनाहरू समयमै पूरा गर्न कठिन भएको र धेरै परियोजनाहरू निर्माण चरणमै अड्किएको इप्पानको भनाइ छ।
संस्थाको अध्ययन अनुसार, आईपीओ ढिलाइका कारण १२ अर्ब ४० करोड रुपैयाँभन्दा बढी ब्याज भार थपिएको, २४ अर्बभन्दा बढी लागत बढेको, र ७१ अर्ब रुपैयाँभन्दा बढी राजस्व आम्दानी गुमेको अनुमान गरिएको छ।
यसबाहेक, नेपालकै कानुनमा नभएको ‘रियल नेटवर्थ ९० भन्दा माथि’ भन्ने अटाएर रिचेत, बेनी, युनिक हाइडेल, याम्बलिङ, लाफिङ बुद्ध र पुवा खोला जलविद्युत् कम्पनीलाई आईपीओ आवेदनबाटै हटाइएको पनि इप्पानले आपत्ति जनाएको छ।
इप्पानका पदाधिकारीहरूले चेतावनी दिएका छन् “सेयर लगानी नै रोकिँदा जलविद्युत् आयोजना अघि बढ्न नसक्ने अवस्था आएको छ। ऊर्जा सुरक्षालाई दीर्घकालीन जोखिममा पार्ने नीति तुरुन्त सुधार हुनुपर्छ।”
ऊर्जा स्वावलम्बनको लक्ष्य लिएको नेपालका लागि, पूँजी बजारमा रोकिएको यो अवस्था दीर्घकालमा विकासको गतिलाई नै अवरुद्ध गर्ने खतरा बढ्दै गएको विशेषज्ञहरूको भनाइ छ।
प्रतिक्रिया