काठमाडौं । नेपाल बायुसेवा निगमले इन्धनको मुल्य घटाउनको लागि सरकारसँग माग गरेको छ । सरकारको चर्को कर र नेपाल आयल निगमले अत्यधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको हो ।
निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महँगो पर्ने गरेको पाइएको छ । अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मूल्य घटाउन पहल गरिदिन निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको छ ।
निगमले मन्त्रालयलाई पत्र लेखी हवाई इन्धनको मूल्य घटाउन पहल गरिदिन आग्रह गरेको छ । हाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटिर २५ रुपैयाँ खुद नाफा राखेको छ ।
वायुसेवा निगमले गत साउन १ को मूल्यका आधारमा तयार पारेको विवरणअनुसार इन्धन भर्दा मलेसियामा प्रतिलिटर ३७.९९ रुपैयाँ र नेपालमा १०६.८५ रुपैयाँ भुक्तानी गर्नुपरेको छ ।
“निगमले उडान गर्ने सबै गन्तव्यमा पर्ने मूल्य र नेपालमा पर्ने मूल्यको तुलना गरेर मन्त्रालयमा पत्र पठाएका छौं,” निगम प्रवक्ता रामहरि शर्माले भने । अन्य एयरलाइन्सहरूले आफ्नै मुलुकमा धेरै इन्धन भरेर आउने भएकाले निगमलाई मात्र बढी भार परेको निगमको भनाइ छ ।
“सरकारले विशेष निर्णय गरेर भए पनि राष्ट्रिय ध्वजावाहक भएको नाताले निगमलाई अन्यलाई भन्दा सस्तोमा दिनुपर्छ भन्ने हाम्रो माग हो,” प्रवक्ता शर्माले भने ।
निगमले पठाएको पत्र पर्यटन मन्त्रालयले उपयुक्त लागेमा अर्थ मन्त्रालय पेस गर्नेछ भने अर्थले करमा सहुलियत दिने निर्णय मन्त्रिपरिषद्मा लैजान सक्नेछ । स्रोतका अनुसार अर्थले तत्काल यस्तो निर्णय गर्न सक्ने अवस्था नभए पनि आपूर्ति मन्त्रालयले नाफा घटाउन निगमलाई निर्देशन भने दिन सक्नेछ ।
“आयल निगमले नाफा थोरै राखेर वायुसेवा निगमलाई सुविधा दिएमा नाफा बढ्ने थियो, जसले सञ्चालनमा सहज हुनेछ,” प्रवक्ता शर्माले भने । निगमले ३ जहाजमार्फत नयाँदिल्ली, बैंग्लोर, मुम्बई, दोहा, मलेसिया, बैंकक र हङकङ उडान गरिरहेको छ । असोजबाट चीनको क्वाङ्चौ उडान गर्दैछ ।
प्रतिक्रिया