काठमाडौं । श्रीनगर एग्रिटेक कम्पनीले आइतबारदेखि आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्री खुल्ला गरेको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन मेरो सेयरमार्फत अनलाइन वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जानकारी दिएको छ । कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
यसमध्ये उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका, म्युचुअल फन्ड र कर्मचारीका लागि छुट्याइएका सेयरपछि बाँकी २५ लाख १० हजार ४९३ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अवस्थित श्रीनगर एग्रिटेकले पशुपन्छी तथा माछाको दाना उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले आगामी दिनमा मासु प्रशोधन र शीत भण्डारण सुविधा विस्तार गर्ने जनाएको छ । असार मसान्तसम्म कम्पनीको वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा, प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा र सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया