काठमाडौं । बाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले आयोजना गरेको १४ औ हस्तकला मेलाको चौथो दिन एक करोड ४५ लाख बराबरको कारोबार भएको छ । मंसिर १० गते देखि १४ गतेसम्म चल्ने सो मेलामा सोमबार मात्र २८ हजारले अवलोकन गरेका छन् ।
अहिले सम्म मेलामा १ लाख २० हजार अवलोकनकर्ताले अवलोकन गरीसकेको आयोजकले दावी गरेको छ ।
त्यस्तै आयोजकका अनुसार अहिलेसम्ममा ८ करोड बराबरको कारोबार भएको पनि आयोजकले जनाएको छ ।
मेलामा ७ वटा पेभिलियन सहित १७८ वटा स्टलहरु रहेका छन् । अन्तराष्ट्रिय जगतबाट बंगलादेश, पाकिस्तान, चीनको स्वाभासित क्षेत्र तिव्वत र भुटानका प्रदर्शनकर्ताहरुले यस मेलामा भाग लिई रहेका छन् । त्यस्तै विटुवी मिटिङमा चीन, ईरान, संयुक्त अरब ईमिरेटस र भुटानका आयातकर्ताहरु रहेका छन् ।
मेलामा देश भरिकै स्थानीय हस्तकला वस्तुको प्रतिनिधित्व गराउने महासंघको लक्ष्य भएता पनि प्रत्यक्ष रुपमा मेलामा ४० जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व रहेको छ । विभिन्न जातजाती तथा समुदायमा विकसित हस्तकला तथा संस्कृति बीच रहको अन्योन्याश्रित सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले यस पटक महासंघद्वारा एउटा भिन्नै प्रस्तुतिको रुपमा अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनको अवधारणालाई समाबेश गरिएको छ । सोही सिलसिलामा मेलाको चौथो दिन तराईबाट थारु संस्कृतिको पहिचान झल्किने प्रस्तुतिहरुका साथै ती समुदायको खाना र भेषभूषाको पनि प्रदर्शन गरियो ।
मेलाको चौथो दिन सोमबार संस्कृती पर्यटन सचिव शंकरप्रसाद अधिकारी, नेपालका लागि भारतका राजदुत रन्जीत रे, पुर्वमन्त्री बुद्धिरत्न बज्राचार्य लगायतले मेलाको अवलोकन गरेका थिए । व्यापार मेलाकै अवसरमा आयोजना भएको १२ औं हस्तकला प्रतियोगितामा यस पटक धातुपत्रकला र उनी बुनाई विधामा प्रतियोगीहरुले प्रदर्शनी स्थलमा बसेर आफ्नो कला प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया