काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । आइतबार सुचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले फोरजी सेवाको सफ्ट लन्च गरेका छन् । पहिलो चरणमा फोरजी सेवा काठमाडौं र पोखरामा चल्ने नेपाल टेलिकमले जनाएको छ । ३८ करोड ८८ लाखको लागतमा टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यस्तै टेलिकमले पहिलो चरणमा पोष्टपेडका ग्राहकहरुका लागि मात्र फोरजी सेवा सञ्चालनमा ल्याएपनि माघ २२ गते टेलिकमको बार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोवाइलमा पनि फोरजी सञ्चालन गर्ने तयारी गरेको छ । टेलिकमले अफरका रुपमा फोरजीको सेवा लिनेलाई चार जीवी डेटा निशुल्क दिने भएको छ ।
सो चारजीवी डेटा चारदिनको लागि मात्र चलाउन पाउने छन् । पोष्टपेड प्रयोगकर्ताले फोरजीका लागि ८४४४३ डायल गरी एक्टिभेट गर्न सक्छन् । महानगरपालिका लगायत सवै उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा सञ्चालन गर्ने सोच बनाएको छ । माघ २२ गतेदेखि काठमाडौं र पोखरा बाहेक १५ वटा उप महानगरपालिकामा पनि फोरजी सेवा सञ्चालन गर्ने छ ।
फोरजी सेवा लिनका लागि थप शुल्क तिर्न नपर्ने पनि टेलिकमले जनाएको छ । टेलिकमका अनुसार ५० एमबीका लागि ३५ रुपैयाँ तिरेर १० दिनको भ्यालिडिटी पाउँछन् । त्यस्तै २०० एमबीको एकसय ३० रुपैयाँमा एक महिना, ५०० एमबीको तीनसय तिरेर एकमहिना, एक जीबीको पाँचसय तिरेर एकमहिना, तीन जीबीको १२ सय ९० तिरेर दुई महिना, पाँच जीबीको १८ सय तिरेर तीनमहिना र १० जिबीको २८ सय तिरेर ६ महिनाको भ्यालिडिटी पाउने टेलिकमले जनाएको छ ।
प्रतिक्रिया