काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङ गाड जलविद्युत आयोजनामा २७ करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै कार्यकारी निर्देशक मोतिबहादुर कुँवर सहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
अख्तियारले कार्यकारी निर्देशक मोतिबहादुर कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र एसएमइसी—एमडब्लुएच कम्पनीका नेपाल प्रतिनिधी उदीपलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि परामर्श दाता छनौट गर्दा २७ करोड २४ लाख
५४ हजार ३५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ । उनीहरुले कम मूल्य प्रस्ताव गर्नेलाई कम अंक दिएको, डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन पेश गर्नु पर्नेमा एसएईसीको हकमा डिटेल कन्ट्रक्सन ड्रोइङलाई नै डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन मानेको पाइएको अख्तियारले दावी गरेको छ ।
आयोगका अनुसार हचुवाको भरमा मूल्यांकन गरी नलसिङ गाड जलविद्युत आयोजना विकास समितिलाई हानी नोक्सानी र्पुयाएको पाइएको छ । अख्तियारले १३ करोड ६२ लाख २७ हजार १६५ रुपैयाँ ८१ पैसा जरिवाना र एक बर्ष जेल सजायँ माग गरी आइतबार मुद्धा दायर गरेको हो ।
भ्रष्टाचार गर्ने उदेश्यले निर्णय भएको भएपनि लेनदेन नभएकाले आधा रकम मात्र बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया