काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यमीको सानो कर्जामा राहत दिएको छ । साेमबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले यी क्षेत्रहरुमा प्रवाह भएका २ करोडसम्मको कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने सुविधा दिएको हो ।
निर्देशन अनुसार बैंकहरुले परिस्थितिवश समस्यामा परेका ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगद प्रवाहलगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने सुविधा दिएको छ । यसका लागि ऋणीबाट बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत असुल गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
२०८२ असोजभित्र पुनरतालिकीकरण वा पुनरसंरचना गरिसक्नु पर्ने कर्जा जोखिम व्यवस्थामा भने २०८१ पुसमा वर्गीकृत गरिएको वर्गमै राख्नुपर्ने शर्त छ । यस्तै पुनरतालिकीकरण वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था फिर्ता गर्न नपाइने राष्ट्र बैंकको निर्देशनमा व्यवस्था छ ।
निर्देशित क्षेत्रमा कर्जा पुर्याउन थप समय
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशित क्षेत्र अन्र्तगत कृषि तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा तोकिएको कर्जा पु¥याउन एक वर्ष समय थप गरिदिएको छ । निर्देशन अनुसार बाणिज्य बैंकहरुले कृषि तथा लघु, घरेलु, साना एवम् मझौला उद्यममा १५/१५ प्रतिशत लगानी गर्न २०८५ असारसम्मको समय तोकेको छ ।
यसअघि बैंकहरुले कृषि र साना तथा मझौला उद्योगको कर्जा प्रवाह पु¥याउन २०८४ असारसम्मको समयसीमा थियो । नयाँ कार्यतालिका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले कृषि तथा र लघु, घरेलु, साना एवम् मझौला उद्यममा ११÷११ प्रतिशत लगानी पुर्र्याउनुपर्ने भएको छ ।
यसैगरी विकास बैंक र वित्त कम्पनीहरुले पनि विपन्न कर्जाका अलावा कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा गरी २० तथा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने समयसीमा पनि एक वर्ष थप गरी २०८५ असार पुर्याएको छ ।
गत मंगलबार राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग भएको छलफलमा बैंकरहरुले कोभिड महामारी र शिथिल अर्थतन्त्रको प्रभावका कारण कर्जा विस्तार सुस्त रहेका कारण निर्देशित क्षेत्रमा कर्जा तोकिए अनुसार पु¥याउन नसकिए भन्दै थप समय मागेका थिए । उनीहरुले निर्देशित गरिएका क्षेत्रमा तोकिएको कर्जा प्रवाह गर्नका लागि थप सहयोग गर्नुपर्ने र यसमा राष्ट्र बैंकले पनि सहयोग गर्नुपर्ने उनीहरुको जोड दिएका थिए ।
चालु पुँजी कर्जामा पनि थप समय
यस्तै निर्देशनमार्फत केन्द्रीय बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागूअघि अघि प्रवाह भएको कर्जाको किस्ता तिर्ने समय २ वर्ष थप गरेको छ । निर्देशन अनुसार मार्गदर्शनले तोकेको सीमाभन्दा बढी प्रवाह भएका कर्जामध्ये भुक्तानी हुन बाँकी कर्जा रकमलाई समान आवधिक किस्ता कायम गरी २०८४ असारभित्र असुल गर्नुपर्नेछ । यसअघि यस्तो समयसीमा २०८२ असार रहेको थियो ।
प्रतिक्रिया