काठमाडौ । सरकारले कणाली डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा ३ अर्ब २० करोड ११ लाख रुपैयाँ दावी सहित १०९ जना विरुद्ध मुद्धा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले बुधबार उच्च अदालत नेपालगञ्जमा बुधबार मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिइआइवी) को प्रतिवेदनको आधारमा बैंकका २०७० साल यताका अध्यक्ष, संचालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), कर्मचारीहरुका साथै नेपाल राष्ट्र बैंकबाट अनुगमनमा गएका कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ ।
जसमध्ये तत्कालिन अध्यक्ष पशुपति दयाल मिश्र, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र बहादुर राय, तत्कालीन वित्त प्रमुख देवप्रकाश ठकुरी र राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत भुवन बस्नेत प्रहरी हिरासतमा छन् । यसबाहेक एक सय ३ जना फरार र २ जना मृत्यु भइसकेको अभियोगपत्रमा उल्लेख छ ।
उनीहरुले अन्य बैंकबाट ल्याएको रकम बैंकमा दाखिला नगरेको, अन्य बैंकमा जम्मा गर्न पठाएको रकम जम्मा नगरेको, अन्तरशाखा कारोबार, रेमिट कारोबार, ऋणीलाई पुनः ऋण दिएर रकम अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ ।
बैंकलाई पुस १० गते राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन नै नियन्त्रणमा लिएको छ । हाल बैंकलाई बैंकलाई राष्ट्र बैंकले उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशकद्धय विष्णुकुमार विश्वकर्मा र जुगल किशोर कुशवाहा सदस्य रहेको ब्यवस्थापन समूहले जिम्मेवारी लिदै आएको छ ।
प्रतिक्रिया