काठमाडौ । विश्व बैंकले चालु आर्थिक बर्षको आर्थिक बृद्धि २.१ प्रतिशत मात्र हुने जनाएको छ । यो अघिल्लो प्रक्षेपणभन्दा ३.१ प्रतिशतले कम हो । यसअघि गत अप्रिलमा विश्व बैंकले यस आर्थिक बर्षका लागि ५.२ प्रतिशतको आर्थिकबृद्धि हुने प्रक्षेपण गरेको थियो । जेनजी आन्दोलनका कारण राजनीतिक अस्थिरताले देशको अर्थतन्त्रमा असर पर्नेभएकोले आर्थिक बृद्धिमा कमी आउने विश्व बैंकको तर्क रहेको छ ।
विश्व बैंकले हालै सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट रिपोर्ट अनुसार आन्दोलनपछि सिर्जित परिस्थितिले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने तथा सम्पत्तिमा भएको नोक्सानीले बीमा उद्योगलाई असर गर्ने छ ।
त्यस्तै आन्दोलनमा लगानीकर्ताहरुको व्यापार व्यवसायमा आगजनी र तोडफोड भएकोले लगानीकर्ताको आत्मविश्वास कमजोर बनेकोले निजी लगानी र जलविद्युत् बाहेकका निर्माणसम्बन्धी गतिविधिमा अवरोध आउने अनुमान पनि बैंकले गरेको छ ।
मधेशमा भएको ढिलो बर्षाका कारण धान लगायतका कृषि उत्पादनमा कमी आउने पनि बैंकको दावी छ । त्यस्तै पुनर्निर्माणका गतिविधिहरू बढ्दा आगामी आर्थिक वर्ष २०८३/८४ मा पुनरुत्थानलाई सहयोग पुग्ने र त्यसपछिको वर्षमा भने आर्थिक विकासले गति लिने अपेक्षा विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार १२ बर्षको अवधिमा नेपालको आर्थिक बृद्धिदर औषतमा ४.३ प्रतिशत मात्रै छ । यसका कारण मुलुकमा रोजगारी सिर्जना सीमित भएको हो ।
त्यस्तै सन् २०२३ मा नेपालको युवा बेरोजगारी दर २२.७ प्रतिशत पुगेको र त्यो दक्षिण एसियाकै सबैभन्दा उच्च स्तरमध्ये एक भएको विश्व बैंकले जनाएको छ ।
प्रतिक्रिया