काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको संस्थापक शेयर पाकिस्तानस्थित हबिब बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएको छ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाका अनुसार साउनको अन्तिम साता नेशनल लाइफ र हबिब बैंकबीच २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा किनबेच गर्न सम्झौता भएको थियो।
राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि अब शेयर हस्तान्तरणको प्रक्रिया अघि बढ्ने बताइएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) का प्रावधानअनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाको २ प्रतिशतभन्दा बढी स्वामित्व भएका कम्पनी वा संस्थाले शेयर बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ । हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गर्दै हबिब बैंकका नाममा रहेका संस्थापक शेयर खरिदका लागि प्रस्ताव मागेको थियो।
उक्त सूचनामा शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको थियो। नेशनल लाइफले सो मूल्यभन्दा ६ रुपैयाँ ८ पैसा बढी अर्थात् ११८ रुपैयाँ ८८ पैसामा खरिद प्रस्ताव गरेको थियो। हाल हिमालयन बैंकमा नेशनल लाइफ इन्स्योरेन्सको १ दशमलव २५ प्रतिशत स्वामित्व छ। यो कारोबार सम्पन्न भएपछि नेशनल लाइफको हिस्सेदारी १४ प्रतिशत पुग्नेछ। हबिब बैंकले यसअघि दुईपटक आफ्नो शेयर बिक्री गर्न प्रयास गरे पनि सफल भएको थिएन।
चार वर्षअघि बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी) सँग सम्झौता भए पनि हिमालयन बैंकका सञ्चालकहरूको विरोधपछि सो सम्झौता कार्यान्वयन हुन सकेन। त्यसपछि २०८० मंसिरमा हबिबले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई शेयर बिक्री गर्ने प्रयास गरेको थियो। तर, राष्ट्र बैंकले स्वीकृति नदिएपछि आवेदन फिर्ता लिइएको थियो।
प्रतिक्रिया