वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केन्द्रिय बैंकले मार्जिन लेन्डिङमा कडाई गर्यो, घरजग्गा र भुक्तानी व्यवस्थामा समेत कडाई

अर्थटुडे
२०७३ भाद्र ८, बुधबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितोमा दिइने मार्जिन लेन्डिङमा कडाइ गरेको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीति मार्फत नै मार्जिन लेन्डिङमा कडाई गर्ने जानकारी दिएको थियो । केन्द्रिय बैंकले साउनमा जारी गरेको एकिकृत निर्देशनमा संसोधन गर्दै उक्त व्यवस्था लागु गर्न निर्देशन दिएको हो । अब बैंक तथा वित्तिय संस्थाले पछिल्लो १८० दिनको औषत मूल्य या प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत मात्र मार्जिन लेन्डिङ गर्न पाउनेछन् । यसअघि यो सुविधामा बैंकरहरुले सेयर मुल्यको ६० प्रतिशत मार्जिन लेन्डिङ गर्दै आएका थिए । यो व्यवस्थाले बजार ओरालो लाग्ने देखिएको छ । धेरैजसो लगानीकर्ताले सेयर धितोमा कर्जा लिइरहेका थिए । राष्ट्र बैंकले संस्थापक सेयरको धितोमा दिइने कर्जा सिमामा पनि कडाइ गरेको छ । उक्त धितोमा यसअघि साधारण सेयरको १८० दिनको औषत मूल्यको ५० प्रतिशत या संस्थापक सेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ६० प्रतिशत मार्जिन लेन्डिङ गर्न पाइन्थ्यो । अब यहि मापदण्ड अनुसार मूल्याङ्कन गरि बढीमा ५० प्रतिशत मात्र बैंकहरुले कर्जा दिन पाउने भएका छन् । मार्जिन ऋण दिइएको सेयरको मूल्य तल झरेमा बैंकले सात दिन भित्र मार्जिन कल गर्नु पर्नेछ । साथै यस्तो सेयरको मूल्य उकालो लाग्दा भने पुनर्मुल्याङ्कन गरेर ऋण थप गर्न पाइनेछैन।
राष्ट्र बैंकले घर जग्गा तथा रियल स्टेटको सुरक्षणमा प्रदान गर्ने कर्जाको सिमा समेत घटाएको छ । रियल स्टेट धितोमा बजार मूल्य (फेयर मार्केट भ्यालु)को ५० प्रतिशत मात्र तथा आवासिय घर कर्जा ६० प्रतिशत मात्र दिन पाइने भएको हो। यस अघि यो कर्जा क्रमशस् बजार मूल्यको ६० प्रतिशत र दुई तिहाइ सम्म थियो ।यसअघि राष्ट्र बैंकले यस्तो सिमा तोकेको थिएन ।
केन्द्रिय बैंकले कर्जा लगानी मात्र होइन भुक्तानी व्यवस्थामा समेत कडाइ गरेको छ । साउनमा जारी एकिकृत निर्देशनका ब्यवस्थामा केन्द्रिय बैंकले थप कसेको हो । बैंक तथा बित्तिय संस्थाले अनिवार्य एकाउन्टपेयी चेक काट्नु पर्ने रकमको सिमा घटाइएको छ । यस अघि ५० लाख रुपैयाँ भन्दा माथिको भुक्तानीमा अनिवार्य एकाउन्टपेयी चेक काट्नुपर्नेमा त्यो सिमा ३० लाखमा झारिएको हो । जसले गर्दा बैकिङ प्रणालीमा थप पारदर्शिता आउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ