काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेशमन्त्री शुष्मा स्वराजबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ता निकै सौहार्दपूर्ण रुपमा भएको र त्यस क्रममा आगामी दिनमा नेपाल भारत सम्बधलाई थप सुमधुर र सुदृढ कसरी बनाउने भन्ने बारेमा छलफल भएको थियो । आफूले नेपालको हित र स्वार्थका विषयमा भेटका क्रममा कुरा उठाएको र विदेशमन्त्री स्वराजले यी सबै विषयलाई गम्भीर रुपमा लिनुभएको परराष्ट्रमन्त्री डा.महतले बताए ।
सो भेटवार्ताका क्रममा आफूले नेपालका तर्फबाट प्रत्यक्ष जनतासँग सरोकार रहेका डुबान एवम् बाढी नियन्त्रण, आयात निर्यात, हुलाकी राजमार्ग, सिंचाई, नाकाखोल्ने तथा तिनलाई व्यवस्थित गर्ने देखि लिएर पञ्चेस्वरलगायतका अरु पनि ठूला आयोजनाका बारेमा नेपालको कुरा राखेको डा. महतले उहाँले बताए ।
मन्त्री डा.महतले नेपाल भारतका बीचमा विगतमा भएका सम्झौता एवम् निर्वाध रुपमा कार्यान्वयनमा आउन नसकेका आयोजनाहरुका बारेमा आफूले कुरा उठाएको र ती आयोजनाको कार्यान्वयन कसरी प्रभावकारी रुपमा गर्न सकिन्छ भन्ने विषयमा विदेशमन्त्री स्वराजले गम्भीरतासाथ लिनुभएको जानकारी दिए ।
बिगतका प्रतिबद्धता र आयोजनाका साथै हाल सञ्चालनमा रहेका कतिपय आयोजनाहरुको कार्यान्वयनमा देखिएका समस्यालाई हटाई निर्वाध रुपमा सुचारु गर्ने र नेपाल भारत सम्बन्धलाई आपसी विश्वासको आधारमा अगाडि बढाउने बारेमा सो भेटवार्ताका क्रममा छलफल भएको थियो ।
सो महत्वपूर्ण भेटपछि मन्त्री डा. महतले भने – नेपालको हितका कैयौँ विषयवस्तुका साथै बिकास आयोजनाहरुका बारेमा मैले कुरा उठाएँ र आगामी दिनमा आपसी विश्वासका आधारमा सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा उहाँहरु गम्भीर भए ।
परराष्ट्रमन्त्री डा. महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
२०७३ भाद्र २७, सोमबार

प्रतिक्रिया