काठमाडों । नेपालबाट बैदेशिक रोजगारमा गएका व्यक्तिहरुले पठाएको रकम के मा खर्च हुन्छ होला ? एक पटक सोच्नुस् त नेपालबाट लाखौ युवाहरु बैदेशिक रोजगारीका लागि विदेशमा गएका छन् । उनीहरुले पठाएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरेमा नेपालमा सुन फलाउन सकिन्छ तर त्यसो भइरहेको छैन ।
नेपाल राष्ट्र बैंकले गरेको विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रबृत्ति २०७३ अध्ययनमा विप्रेषणबाट आएको रकमको १.१ प्रतिशत मात्र उत्पादनमूलक क्षेत्रमा लगानी हुने गरेको पाइएको छ ।
सो अध्ययनले विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्न, २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा र ३.५ प्रतिशत विवाह, व्रतबन्ध लगायतका सामाजिक कार्यमा खर्च हुने देखाएको छ ।
त्यसैगरी बाहिरबाट आएको विप्रेषणको ३ प्रतिशत घरायसी सम्पत्तिको खरिदमा प्रयोग भएको देखाएको छ भने २८.प्रतिशत रकम भने बचत भएको देखाएको छ । बैदेशिक रोजगारीमा गएकाहरुले ६ वा ७ पटकमा बार्षिक ५ लाख भन्दा बढी घर पठाउने गरेको पाइएको छ ।
त्यसैगरी सो अध्ययनले देखाए अनुसार वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ९९.४ प्रतिशतले राष्ट्र बैंकले निस्कासन गरेको वैदेशिक रोजगार बचतपत्र किनेका छैनन् । बचत पत्रको बारेमा जानकारी नै नभएको जनसंख्या ७३.६ प्रतिशत रहेको छ । यो अत्यधिक बढी हो ।
यसलाई कम गर्नको लागि राष्ट्र बैंकले प्रचारप्रसारमा ध्यान दिनको लागि सुझाएको छ । प्रचार प्रसारको लागि राष्ट्र बैंकको अनुसन्धान विभागले रेमिट्यान्स कम्पनी, वैदेशिक रोजगार विभाग, मेनपावर कम्पनी र काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम डेस्क मार्फत वैदेशिक रोजगार बचत पत्र, लगानी गर्ने विधि तथा लगानी बापत प्राप्त हुने व्याजदर लगायतको जानकारी गराउने पुस्तिका तयार गर्नुपर्ने समेत जनाएको छ । वैदेशिक रोजगारमा गएका व्यक्तिहरू मध्ये ३६.६ प्रतिशतको मात्र बैंक खाता रहेको पाइएको छ । यसबाट विप्रेषण प्राप्त गर्ने करिब एक तिहाइ घरपरिवारहरू वित्तीय पहुँचबाहिर रहेको देखिएको छ ।
तयसैगरी वैदेशिक रोजगारीमा गएका मध्ये ७३.१ प्रतिशत मेनपावर कम्पनीको माध्यमबाट, १६.६ प्रतिशत आफन्त तथा साथीभाइका माध्यमबाट एवम् १०.३ प्रतिशत अन्य माध्यमबाट जाने गरेका छन् ।
यसरी रोजगारीमा गएका मध्ये ३३.५ प्रतिशत अदक्ष श्रमिकको रूपमा, १३.६ प्रतिशत सुरक्षा गार्ड, २.३ प्रतिशत कृषि मजदुर, १.५ प्रतिशत घरेलु कामदारको रूपमा र बाँकी अन्य पेसा तथा क्षेत्रमा कार्यरत रहेको छ । त्यस्तै ४४.१ प्रतिशतको शैक्षिक योग्यता एस.एल.सी. भन्दा कम रहेको छ भने २.८ प्रतिशत निरक्षर रहेका छन् । नेपाल राष्ट्र बैंकले देशभरका ३२० घरपरिवारको सर्वेक्षणका आधारमा यो सुझाव सहितको निस्कर्ष वाहिर ल्याएको हो ।
झापा, सुनसरी, तेह्रथुम, खोटाङ, धनुषा, काठमाडौं, चितवन, कास्की, वाग्लुङ, गोर्खा, रुपन्देही, दाङ, कालिकोट, बजुरा, कैलाली र वैतडीका घरहरु अध्ययनका लागि छानिएको हो ।
अध्ययनमा छनौट भएका ३२० घरपरिवारहरू मध्ये ४४.७ प्रतिशतको आम्दानीको मुख्य स्रोत कृषि तथा ३८.४ प्रतिशतको वैदेशिक रोजगारी देखिएको छ । बाँकी घरपरिवारहरूको आम्दानीको मुख्य स्रोत व्यापार र अन्य क्षेत्र रहेको छअध्ययनमा समेटिएका ३२० घरपरिवारहरू मध्ये ६४.१ प्रतिशत घरमुलीको कम्तीमा एक वित्तीय संस्थामा निक्षेप खाता रहेको छ ।
उतपादनमूलक क्षेत्रमा रेमिट्यान्सको लगानी १.१ प्रतिशत मात्रै !
२०७३ आश्विन १०, सोमबार
प्रतिक्रिया