काठमाडौ। चालु आर्थिक वर्ष वृद्धि आर्थिक बृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहिबार संघिय संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आठ महिनाको तथ्यांक अध्ययन गर्दा ४.६१प्रतिशत आर्थिक बृद्धि हुने अनुमान रहेको बताएका हुन् । उनले मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको पनि दावी गरे ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ। प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ। औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको पनि पौडेलको दावी छ ।
त्यस्तै चालु आर्थिक वर्षको फागुनसम्म संघीय खर्च ४.७ प्रतिशत र सघीय राजस्व १२.६ प्रतिशतले बढेको, वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको र सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रुपैयाँ रहेको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको पनि पौडेलले उल्लेख गरे ।
त्यस्तै २०८१ फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो। त्यस्तै पौडेलले मानव विकास सूचकाङ्क बढेर ०.६२२ पुगेको, शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १–८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको बताए ।
चालु आर्थिक वर्षको फागुनसम्म ३७ हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यस अवधिसम्म ९६.८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेको छ।
प्रतिक्रिया