काठमाडौं । महिनादिन अघिसम्म दैनिक एक अर्व रुपैयाँ भन्दा बढीको कारोबार हुने सेयर बजार पछिल्लो समयमा करोडमा सिमित हुन पुगेको छ । बुधबार अहिलेसम्मकै सवैभन्दा कम कारोबार भएको छ । यसदिन सेयर बजारमा जम्मा ३३ करोडको हाराहारीमा मात्र कारोबार भएको छ ।
पछिल्लो समयमा विभिन्न कम्पनीहरुले साधारण सेयर र हकप्रद सेयर निष्कासन गर्ने क्रम बढेको र त्यसका लागि रकम जोहो गर्नुपर्ने भएकोले पनि लगानीकर्ताहरुले दोस्रो बजारमा सेयरको किनबेच कम गरेका छन् । त्यस्तै बैंक तथा वित्तिय संस्थामा तरलता अभावका कारण बैंकको व्याजदरमा भएको बृद्धि र राजनीतिक अन्योलताका कारण पनि लगानीकर्ताहरुको मनोबल गिर्न गइ कारोबारमा गिरावट आएको सेयर बजार विष्लेषकहरु बताउँछन् ।
बुधबार सेयर बजार एक अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजारमा बुधबार झिनो सुधार देखिएको हो । यसदिन कारोबार रकम ३२ करोड ८९ लाखमा सिमित छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६ करोडले कम हो । यसदिन १२४ कम्पनीका ६ लाख ३८ हजार कित्ता सेयर किनबेच भए ।
यसदिन विकास बैंक ०.४९, हाइड्रो पावर १.२८, इन्सुरेन्स ८६.४४ बढेको छ भने बैकिङ १.६५ फाइनान्स, ५.१ र अन्य २.०३ अंकले घटेको छ ।
बुधबार सवैभन्दा बढी कारोबार हुनेमा ३ करोड ३१ लाख रुपैयाँ सहित कुमारी बैंक रहेको छ । यस बैंकले २० प्रतिशत बोनस प्रस्ताव गरेकोले पनि बढी कारोबार भएको हो । यो बैंकको सेयरमूल्य समेत तीन प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्सको २ करोड ७६ लाख रुपैयाँको भएको छ ।
यस दिन कमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक, विभोस सोसाइटी डेभलपमेन्ट बैंक, एनबी इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीको लगानीकर्ता रहेका छन् भने गुमाउनेमा मिथिला लघुवित्त विकास बैंक, अरुण फाइनान्स, साझा महिला सहयात्रा माइक्रोफाइनान्स बरुण हाइड्रो, ज्योति विकास, मिशन डेभलपमेन्ट बैंक लगायतका कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।
प्रतिक्रिया