काठमाडौं । नेपालीमा चर्चित उखान छ, आफैं धामी, आफैं बोक्सी । कसैले स्वार्थ बाझिने गरी भूमिका निर्वाह गरेमा यो उखानबाट व्यङग्य गरिन्छ । अहिले सहकारी अभियानमा पनि यही उखानको चरितार्थ भएको छ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) भित्र ।
प्रशंग हो नेफ्स्कूनले हालै गठन गरेको कर्जा लगानी सम्बन्धी छानविन समिति । जथाभावी कर्जा प्रवाह गरी दुरुपयोग गरेको भन्दै आलोचना भइरहेका बेला नेफ्स्कूनले संचालक समिति भित्र छानविन समिति बनाएको छ । संचालकहरु खेमराज सुवेदी, सिता ढकाल गोपाल प्रसाद गौतम सदस्य रहेको समिति बनाएको हो ।
ऋण लगानीमा व्यवस्थापनदेखि संचालक समितिको समेत भूमिका हुने गर्छ । सानो ऋण प्रमुख कार्यकारी अधिकृतबाट स्वीकृत हुने गरेपनि ठूलो आकारको ऋण स्विकृत गर्न संचालक समितिको बैठकमा प्रस्ताव लैजाने गरिएको छ ।
यसैगरी नेफ्स्कूनभित्र कोषाध्यक्षको संयोजकत्वमा अन्तरलगानी समिति पनि छ । यो समितिले पनि संघभित्रको कर्जा लगानी हेर्ने गर्दछ । हाल कोषाध्यक्ष दीपक थापा संयोजक रहेको उक्त समितिमा पनि सुवेदी र पौडेल सदस्य छन् ।
अन्तरलगानी समितिमा भएकै संचालकहरु सदस्य रहेन गरी कर्जा लगानी छानविन गर्नलाई रहस्यमय ढंगले हेरिएको छ । कर्जा लगानीको छानविन गर्न भन्दापनि अनियमिता लुकाउनका लागि समिति गठन भएको एक सहकारीकर्मीले आरोप लगाए ।
नेफ्स्कूनका प्रवक्ता तथा बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी भने कर्जा लगानीका कार्यविधिहरु संसोधन गर्न र अहिले भएका कर्जाको अवस्थाबारे छानविन गर्न समिति बनाइएको दावी गर्छन् । समिति कर्जा लगानीको छानविन गर्न भन्दा पनि नीतिगत त्रुटीहरु सुधार गर्नका लागि समिति बनेको उनको दावी छ ।
नेफ्स्कूनले जथाभावी कर्जा लगानी गर्दा समस्या परेको छ । गत आर्थिक वर्ष खराब कर्जाबापत प्रोभिजनिङ गर्नुपर्ने भन्दा ३ अर्ब ६५ करोड ७१ लाख रुपैयाँ कम प्रोभिजनिङ गरी नक्कली नाफा देखाएको उसको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमै उल्लेख छ । प्रोभिजनिङ गर्नुपर्ने रकम नाफाबाट घटाउनुपर्नेमा त्यो नगरेपछि लेखा परीक्षकले विपरीत राय (एडभर्स अपिनियन) दिएको छ ।
नक्कली नाफा देखाएर २ दशमलव ९४ प्रतिशत नाफा बाड्ने निर्णय गरेको नेफ्स्कूनलाई सहकारी विभागले वितरण नगर्न निर्देशन दिएको थियो ।
अघिल्लो आवमा पनि लेखापरिक्षकले विपरीत राय (एडभर्स अपिनियन) दिएको थियो । विभागले त्यसमा सुधार गर्न निर्देशन दिएकोमा संघले गत आवमा पनि दोहोर्याएको हो ।
पछिल्लो समय नेफ्स्कून वित्तीय कारोबार बढाउने र कमाउने धन्दामा मात्र लागेको र यसमा संचालकदेखि सिइओसम्मको जोड रहेको आरोप लाग्दै आएको छ । यसअघि नेफ्स्कूनको कर्जा लगानीमा समेत नक्कली धितो राखेको, कर्जा लगानी गर्दा संचालक र कर्मचारीहरुले कमिसन लिएको भेटिएपनि कुनै कारवाही गरेको छैन ।
नेफ्स्कूनले विना धितो ठूलो–ठूलो लगानी गर्दा जोखिममा परेको सहकारी विभागसहित नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा उल्लेख छ । अनुगमनले सञ्चालकको लापरबाही तथा संघको वित्तीय अवस्थाका विषयमा प्रश्न उठाएको छ । ऋण लगानी गर्दा ऋणीको पर्याप्त मात्रामा लगानी जोखिम र व्यावसायिक सम्भावनाको विश्लेषण नगरी ऋण प्रवाह गरेको देखिएको छ । संघले ऋण प्रवाह गर्दा वित्तीय जोखिमको अवस्था विश्लेषण नगरी प्रवाह गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
पछिल्लो समय राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरण जारी गरेको मापदण्डका कारण नेफ्स्कूनलगायतका संघहरुको कारोबार अप्ठेरोमा परेको छ । संस्थाहरुले संघमा शेयर राख्न नपाउने, तरलता गणना नहुने जस्ता प्रावधानको विरोध गर्दै नेफ्स्कूनले आन्दोलनको नेतृत्व गरिरहेको छ ।
प्रतिक्रिया