सागर ढकाल
अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल
पछिल्लो समयमा लगानीकर्ता र ब्रोकर कम्पनीहरुको मिलेमतोमा सेयर बजारमा चलखेल हुने गरेको कुराहरु बाहिर आइरहेका छन्। अर्थमन्त्रालयले असार ९ गते नेपाल धितोपत्र बोर्ड (सेवोन) लाई बोलाएर नै लगानीकर्ताले पुर्ण रुपमा धितो राखेपछि मात्र सेयर कारोबार गर्न दिनु भन्ने मौखिक निर्देशन नै दियो । लगानीकर्ता र ब्रोकर मिलेर अस्वाभाविक रुपमा बजारमा चलखेल गरेको अर्थमन्त्रालयको ठम्याइ छ । त्यस्तै सेवोनले गरेको अध्ययनले पनि लगानीकर्ता र ब्रोकरको मिलेमतोमा बजारमा चलखेल हुने गरेको कुराहरु खातामा पैसा नभएको ८० करोडको चेकले स्पष्ट पार्यो । तर एउटा वा दुईवटा उदाहरुलाई लिएर नियमनकारी निकायले सवैलाई समस्या पर्नेगरी शतप्रतिशत धितोविना कारोबार गर्न नदिने गरी नियम बनाउदैछ । त्यस्तै बजारमा ब्रोकर कम्पनीहरु धेरै हुदा कम्पनीहरुलाई व्यवसाय पुगेको छैन । मार्केट रिचर्स एण्ड एनालाइसिस, लगानी सल्लाहकार, पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन टेडिङ एण्ड फाइनान्सिङ सर्भिस र ग्राहक साक्षरतामा गम्भीर भएर काम गर्नुपर्ने स्टक ब्रोकर एसोसिएसन अफ नेपाल अहिले विभिन्न मुद्धामा बिकेन्द्रित हुन परेकाे छ । यीनै समसामयिक विषयलाई लिएर स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालसँग गरिएको कुराकानीको सारांश
केही समयअघि लगानीकर्ता र ब्रोकर मिलेर ब्यालेन्स नै नभएको चेकको आधारमा ठुलो कारोबार सीमा लिने र सोही सीमालाई प्रयोग गर्दै कृतिम माग देखाएर सेयर मुल्यमा चलखेल गरेको तथ्यहरु बाहिर आयो, त्यसकै आधारमा नेपाल धितोपत्र बोर्डले जति रकम कोल्याट्रलमा देखाइएको छ, त्यतिको मात्र सेयर किन्न पाइने व्यवस्था गर्न लागेको छ । यो व्यवस्थाले बजारलाई कस्तो असर पार्छ ?
धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ अनुसार सेयर ब्रोकरहरुले काम गरिरहेका छन् । सो विनियावली अनुसार २५ प्रतिशत रकम जम्मा गरेर अर्थात् ब्रोकरको खातामा जम्मा गरेको वा चेक काटेर दिएको रकमको ४ गुणासम्म सेयर खरिदको आदेश दिन पाइन्छ । जस्तै कुनैपनि व्यक्तिले एक करोड रुपैयाँको सेयर किन्छन् भने उसले कम्तीमा २५ लाख रुपैयाँ धितोको रुपमा राख्न पर्ने व्यवस्था छ । तर अब भने एक करोड रुपैयाँको सेयर किन्न चाहनेले एक करोड रुपैयाँ नै रकम कोल्याटरको रुपमा राख्नुपर्ने व्यवस्था गर्न लागिएको समाचार आएको हो । हाम्रा नियमनकारी निकायहरु कुनै एक कम्पनी वा संस्थामा समस्या देखिएमा सवैलाई एउटै डालोमा राखेर नियम नै परिवर्तन गर्नुहुन्छ । यो गर्न हुदैन । नियमनकारी निकायले अनुगमनका क्रममा फेला पारेका त्यस्ता विषयहरुमा सम्बन्धीत कम्पनी वा व्यक्तिमाथि कारबाही गर्न सक्ने अधिकार त उहाँहरुसँग छ । एकका कारण सवैजना पिडित हुनेगरी नियमावली संशोधन गर्न हुदैन । अहिलेको व्यवस्थाले बजारमा छरिएर रहेको करिव ६२ लाख भन्दा बढी लगानीकर्ताहरुलाई सेवा दिएको छ । व्यक्तिका कारण नियम नै परिवर्तन गर्नु उचित लाग्दैन ।
अहिलेको पुँजीबजारलाई कसरी हेर्नुभएको छ ?
अहिलेको पुँजीबजार पहिलेको भन्दा परिष्कृत भएको छ । पछिल्लो समयम विस्तारै बजार सहज हुदै गएको छ । ठूलो रुपमा फड्को मार्न नसकेपनि पुँजी बजारमा प्रविधिको प्रयोग बढीरहेको छ । जसका कारण लगानीकर्ताहरुले समयमा नै सेवा सुविधाहरु पाइरहेका छन्। विकसित देश अझ भनौ हाम्रा दुई ठूला छिमेरी चिन र भारतजस्तो पुँजी बजारको विकास भएको त छैन तर हुदै नभएको पनि भन्न मिल्दैन । पुँजीबजारप्रति सरकार पनि सकारात्मक देखिएको छ । चालु आर्थिक बर्षका लागि असार अन्तिम साता ल्याएको मौद्रिक नीति पनि बजारमैत्री नै देखिएको छ । लगानीकर्ताहरुले लामोसमय देखि उठाइरहेको विभिन्न प्रकारको मागहरु पनि सम्बोधन हुनेक्रममा नै छन् । शतप्रतिशत नभएपनि सरकारले सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको छ । समग्रमा भन्दा पुँजीबजारमा सकारात्मक परिवर्तनहरु भइरहेको छ ।
ब्रोकर कम्पनीहरु के गरिरहेका छन्?
अहिले ब्रोकर कम्पनीहरुसँग पर्याप्त काम छैन । उनीहरुको दोस्रो बजारमा सेयर किन्ने र बेच्ने बाहेक कुनै काम नै छैन । सरकारले बजेटमा जसरी नेप्सेको पुनर्सरचना गर्ने, विभिन्न प्रोडक्टहरु ल्याउने भनेको छ । सोही अनुसार काम भयो भने बजार चलायमान हुनुका साथै ब्रोक कम्पनीहरुले काम पनि पाउने थिए । साथै लगानीकर्ताहरुले अन्तराष्टिय सेवा र सुविधाहरु प्रयोग गर्न पनि पाउने थिए । अहिले लगानीकर्ताहरुले खासै केही सेवा र सुविधाहरु पाएका छैनन् । बजेटमा आएको कुरालाई मात्र कायान्वयन गरेमा पनि बजार निक्कै चलायमान हुन्छ ।
ब्रोकर कम्पनीहरुले काम पाएनन् भन्नुहुनछ, के कस्ता नयाँ कामहरुको सम्भावना छ ?
हामीले अहिले इक्विटी (कम्पनीको सेयर) मा किनवेच गरिरहेका छौ जसबाट आएको कमीसन नै हाम्रा कम्पनीहरुको आयको मुख्य स्रोत हो । नेपालमा अहिलेसम्म सरकारी ऋणपत्रको कारोबार सुरु हुन सकेको छैन । नेपाल राष्ट बैंकका अनुसार सरकारसँग हालसम्म ८ खर्ब बराबरको ऋणपत्र छ । तर त्यसको कारोबार हुन सकेको छैन । सो ऋणपत्रको कारोबार हुन सकेमा एकातिर बजार निक्कै चलायमान हुन्थ्यो र लगानीकर्ताहरुले पनि विभिन्न सुविधाहरु पाउने थिए भने अर्कोतर्फ ब्रोकहरुको काम बढ्नुका साथ साथै आम्दानी पनि बढ्ने थियो । त्यसैगरी नेप्सेले ‘सर्टसेल’, नेप्से ३०, ‘इन्ट्रा डे ’कारोबार लगायतका विभिन्न सेयरबजार सम्बन्धी प्रोडक्टहरु ल्याउने हो भने ब्रोकर कम्पनीहरुको काम भ्याइ नभ्याइ हुने थियो । तर त्यसतर्फ सबन्धीत निकायको खासै ध्यान गएको देखिदैन ।
‘सर्टसेल’ र इन्ट्रा डे कारोबार भनेको केहो ? यसले कसरी पुँजीबजार विस्तार गर्न मद्धत गर्दछ ?
सर्टसेल भनेको यस्तो उपकरण हो जसले बजार ओरालो लाग्दा पनि कारोबारीलाई कमाउने अवसर दिन्छ । अर्थात बजार अथवा कुनै स्टक अब घट्छ भन्ने पुर्वानुमान गरेर आफुसँंग नभएको सेयर बेचिन्छ र बेचेको मुल्य भन्दा तल आउँदा त्यो स्टक किनेर कारोबार सल्टाइन्छ । उदाहरणका लागि कुनै कम्पनीको सेयर प्रतिकित्ता १००० रुपैयाँमा बेचियो तर सो सेयर आफूसँग छैन । पछि सोही सेयर प्रतिकित्ता घटेर ५०० मा पुग्यो भने आफुले प्रतिकित्ता ५०० मा किन्ने अनि १००० रुपैयाँमा बेचेको सेयर उसको खातामा पठाउने । यसले बजार घट्दा पनि प्रतिकित्ता ५०० रुपैयाँ फाइदा पुग्छ । नेपालको बजार एकतर्फी मात्र हुनाले पहिले किनेको सेयर बढ्दा मात्र कमाउने अवसर हुन्छ । त्यसैले सर्टसेलको लागि एउटा मेकानिजम बनाउन जरुरी हुन्छ । नेपालजस्तो देशमा सर्टसेलको काम गर्न गर्न सकिदैन भन्ने हो भने त्यसको पनि अध्ययन गरेर प्रयोगमा ल्याउदा हुन्छ । यो अन्तराष्ट्रिय अभ्यास हो नेपालमा प्रयोगमा ल्याउने हो भने एकातिर बजारपनि चलायमान हुन्छ भने अर्कोतर्फ कारोबार बढ्दा सरकारको राजस्वमा पनि टेवा पुग्छ । नेपालमा अहिले क्लोज आउटको यस्त्रो विषय आएको छ । सिस्टममा सेयर नभइकन कारोबार भइरहेको छ। सिष्टममा सेयर नहुदा भएको कारोबारबाट लगानीकर्ताहरुले २० प्रतिशत जरिवाना तिरिरहेका छन् । तर यदी सर्टसेलको व्यवस्था भएमा कुनै समस्या हुदैनथ्यो । सर्टसेलमा पनि लगानीकर्ताले राम्रो वेनिफिट पाउने थिए । त्यस्तै इन्ट्रा डे पनि सेयर बजारको एउटा प्रोडक्ट हो । एकै दिनभित्र एउटै सेयर पटक पटक खरिद बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा डे’ कारोबार भनिन्छ । अहिले खरिद बिक्री गरिएको सेयर राफसाफ भई सम्बन्धित व्यक्तिको खातामा आएपछि मात्रै पुनः कारोबारका लागि योग्य भएको मानिन्छ । इन्ट्रा–डे कारोबार हुँदा दिनभर कारोबार भएकोमध्ये खरिद गरिएको र बिक्री गरिएको सेयरको खुद सेयरको मात्रै रकम भुक्तानी गर्नुपर्छ ।अहिले प्रत्येक कारोबारको छुट्टाछुट्टै भुक्तानी गर्नुपर्ने व्यवस्था छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा इन्ट्रा डे कारोबारमा ल्याउने व्यवस्था गरिएको हो । तर त्यसको कार्यान्वयनको अवस्था भने हेर्न बाँकी नै छ । यसले पनि पुँजीबजारमा सकारात्मक योगदान नै दिनेछ ।
ब्रोकर कम्पनीहरुमा के कस्ता समस्या छन् ?
कतिपय समस्याहरु सेवोनले सल्टाइसकेको छ । कतिपय समस्याहरु नियमावली संशोधन गर्ने प्रकृयामा छ भने कतिपय ऐन बनाएर नै समाधान गर्नेतर्फ काम भइरहेको छ । अहिलेको मुख्य समस्या भनेको सेटलमेन्ट ग्यारेन्टी फण्डको हो । ब्रोकर कम्पनीहरुले फण्डको रुपमा १० करोड रुपैयाँ बराबरको रकम नेप्सेमा आइडल रहेको छ । त्यो रकम ब्रोकरहरुले नै चलाउन पाए दैनिक काममा सहज हुने थियो तर त्यो फण्ड संचालनमा ल्याउन सकिएको छैन । सो फण्ड संचालन कार्याविधिको समस्या रहेकोले कार्याविधि परिवर्तन गरेर भएपनि संचालनमा ल्याउनका लागि ब्रोकर एसोसिएसनले काम गरिरहेको छ ।
यति सानो पुँजी भएको देशमा ९० वटा ब्रोकर कम्पनी धेरै भएन ?
अहिले ६५ लाख लगानीकर्ताहरुको डिम्याट एकाउन्ट छ । यो तीन करोड नेपाली जनता भएको ठाउँमा ठूलो डेटा हो । अव यहाँ भन्दा बढी ह्वात्तै लगानीकर्ताहरु बढ्दैनन् । यत्तिकै लगानीकर्ताहरु भएको ठाउँमा ९० वटा ब्रोकर कम्पनीहरु संचालन भएर नाफा कमाउन कठिन छ । मर्ज नै विकल्प हो । सेवनले पुँजी बृद्धि गर्ने समय थपिएको छ । अव मर्ज भएपनि पुँजीबृद्धि गर्लान् । क्यापिटल भएको व्यापारतिर र व्यापारभएको क्यापिटल तिर मर्ज भएर ब्रोकर कम्पनीहरुले एउटा बाटो समाउछन्। पुँजीबृद्धि भएपनि उनीहरुलाई रिटर्न दिनुपर्ने दवाव पनि हुन्छ जसका कारण अस्वस्थ प्रतिष्पर्धा बढ्न सक्छ । त्यस्तै अर्कोतर्फ नेपालमा सिमित बजार र सिमिति व्यवसाय भएकोले पनि ति ब्रोकर कम्पनीहरु राम्रोसँग चलेर फाइदामा जान सक्ने अवस्था अत्यन्त न्युन रहेकोले मर्जरको विकल्प देख्दिन ।
नेपाल धितोपत्र बोर्डले नियमावली नै परिमार्जन गरी सवै ब्रोकर कम्पनीहरुले पनि सेयर धितोमा कर्जा (मार्जिन लेन्डिङ) दिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकबाट पनि त यस्तो प्रकृतिको कर्जा पाइरहेको थिए, अब सवै ब्रोकरले पनि दिनपाउने व्यवस्था भयो, यसले ब्रोकरहरुलाई जोखिम निम्त्याउदैन ?
हो । सेवोनले ब्रोकर कम्पनीहरुले पनि मार्जिन लेन्डिङ गर्न पाउने व्यवस्था गरेको छ । तर राष्ट्र बैंकले निर्देशनमा क्लियर नगराउदा त्यसको काम हुन सकेको छैन । नियमावली भर्खर भर्खर आएको छ । पहिले ६० करोड चुक्तापुँजी हुनेले मात्र यस्तो काम गर्न पाउने थिए, तर अहिले सवै ब्रोकरहरुले गर्न पाउने व्यवस्था गरिएको छ । तर कार्यान्वयका लागि राष्ट बैंकले पनि कोडिनेशन गरिदिनुपर्छ । मार्जिन लेन्डिङको कारोबार हुदा लगानीकर्ताहरुलाई यसको प्रत्यक्ष फाइदा पुग्छ । एउटा ब्रोकर कम्पनीबाट सेयर कारोबार गर्नुपर्छ सोही सेयर धितो राख्न भने अर्को बैंकहरु धाउनुपर्ने बाध्यताबाट लगानीकर्ताहरुले मुक्ती पाउनेछन् । साथै ब्रोकर कम्पनीहरुले पनि थप काम पाउने थिए । मार्जिन लेन्डिङको काममा जोखिम निक्कै कम अझ भनौ शुन्य झै छ । धितो नै सेयर हुनेभएकोले कर्जाको भारले थाम्न छोडेपछि धितो विक्रि गरी ब्रोकर कम्पनीहरु आफ्नो रकम उठाउछन् । अहिले पनि बैंकहरुले त्यही गरिरहेका छन्।
उदारो कारोबारले निक्कै सताएको छ भनिन्छ नी ?
हो, अहिले ब्रोकर कम्पनीहरुले उदारोको समस्या भोगिरहेका छन् । उदारोको विषयमा कानुन नभएकोले समस्या भोगिरहेको हो । उदारोको सम्बन्धी समस्या सल्टाउनका लागि कानुन बनाएर अघि बढ्नु आवश्यक छ ।
नेपाल स्टक एक्सचेन्जले नेप्से ३० ल्याउने कोसिस गर्यो सकेन तर यो कार्यान्वयनमा न आउदा लगानीकर्ताहरुलाई कस्तो असर पर्छ ?
नेप्से ३० सेम विन्डोमा आएर खासै अर्थ राख्दैन । अहिलेकै इन्डेक्स होटल, पर्यटन जसरी नेप्से ३० थपेर विन्डोमा हालेर चाही काम छैन । तर नेप्से ३० को इन्डेक्स छुट्टै हुनुपर्छ । त्यसको इन्डेक्स विश्वासिलो र भरपर्दो रुपमा कारोबार भएमा राम्रो हो नत्र भने नेप्सेले ३० वटा कम्पनीहरु लगानीकालागि लगानीकर्ताहरुलाई छानिदिएको जस्तो मात्र हुन्छ । छुट्टै विन्डो बनाएर काम गर्नु जरुरी हुन्छ ।
अहिले ब्रोकर कम्पनी चलाउनेहरुले भेन्चर क्यापिटल, प्राइभेट इक्वीटीका कामहरु पनि गरिरहेको देखिन्छ, यसले कसरी लगानीकर्ताहरुलाई फाइदा पुरयाउछ ?
खासमा भन्ने हो भने प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल फरक फरक हुन। यो नेपालमा भर्खर सुरु भएको छ । हामी सवैले यसको बृद्धिका लागि काम गर्नुपर्छ । संसारभरी यस्तै कम्पनीहरुले मात्र विकासको काम गर्ने हो । अहिलेसम्म नेपालमा कुनैपनि कम्पनी खोल्नुपरेमा दुईवटा माध्यमबाट लगानी हुन्छ पहिलो सेयर अर्को कर्जा । जस्तै कुनैपनि व्यक्तिले कम्पनी खोलेर लगानी गर्छ भने उसले आफ्नो ३० प्रतिशत सेयर लगानी गर्छ भने बाँकी ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाबाट ऋण खोज्छ । जसका कारण कम्पनीले कमाउने नाफा ७० प्रतिशत रकमको व्याज तिर्दा नै सकिन्छ । उसले राम्रो मुनाफा लिन सक्दैन । तर यस्तो अवस्थामा पीइभिसी (प्राइभेट इक्वीटी एण्ड भेन्चर क्यापीटल) ले मानै ४० प्रतिशत लगानी गरिदियो भने कम्पनी उठ्न सहज हुन्छ ।
जस्तै कुनैपनि कम्पनीमा ३० प्रतिशत आफ्नो लगानी ४० प्रतिशत भेन्चर क्यापिटलको लगानी भयो भने ७० प्रतिशत रकम विना व्याजको हुन्छ । बाँकी ३० प्रतिशतको मात्र व्याज तिर्नेगरी कमाउनका लागि कम्पनीलाई सहज हुन्छ । व्यवसायी उत्साहित भएर थप अर्को काम गर्छ । यदी नेपालमा व्यवसायिक वातावरण बनाउने हो, भने पिइभीसीको व्यापक रुपमा काम गर्न दिनुपर्छ साथै अझ बैदेशिक लगानी नेपालमा भित्र्याउन सक्नेगरी उनीहरुलाई काम गर्न दिनुपर्छ । यसलाई नै बन्देज गराइयो भने व्यवसायिक वातावरण बन्दैन । यसलाई जुन उदेश्यले सुरु भएको उसलाई सफल हुन दिनुपर्छ व्यवसाय सफल भएमा मात्र राज्यको सवैभन्दा ठुलो सफलता हुन्छ । त्यस्तै कुनैपनि कम्पनी सस्टेन हुनु भनेको जागिरको मागमा बृद्धि हुनु हो, त्यस्तै जागिरमा बृद्धि हुदा माग बढ्छ माग बढ्दा आपुर्ति बढ्छ र आपुर्ति बढ्दा उत्पादन बढेर समग्र अर्थतन्त्र नै सकारात्मक मोडतिर जान्छ अझ भनौ समग्र अर्थतन्त्रको इको सिष्टमलाई नै सकारात्मक प्रभाव पार्छ । अहिले भेन्चर क्यापिटल, प्राइभेट इक्वीटीहरुलाई सिमित घेरामा बाध्ने समय होइन । यसलाई एक दशक पार गर्न दिनुपर्छ । साथै भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्डहरु पनि पुँजी बजारकै एक हिस्सा भएकोले ब्रोकर कम्पनीहरुले यसको काम पनि गर्न थालेको हो ।
आगामी योजना के छन् ?
पुँजीबजार विकास र विस्तारको लागि अर्थमन्त्रालय, सेवोन, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकाय र सरोकारवालाहरुसँग सहकार्य गर्दै अगाडी बढ्नुपर्छ । त्यस्तै अन्तराष्ट्रिय स्तरमा हेर्ने हो भने ब्रोकर एसोसिएसनको काम भनेको मार्केटको रिसर्च र एनालाइसिस गरेर वे फरवार्डका लागि सरकार र सम्बन्धीत निकायलाई सुझाव दिने पनि हो । त्यसैले हामीले त्यतातिर पनि काम गरिरहेका छौ । त्यस्तै ब्रोकरले पोर्टफोलियो म्यानेजमेन्टको कामहरु पनि गर्नुपर्छ भने सो कामको लागि पनि सम्बन्धीत निकायसँग कुरा गरिरहेका छौ । सेवोनले मार्जिन टे«डिङको अनुमति पनि दिने व्यवस्था गरेको छ कार्यान्वयन बाँकी नै छ । त्यसैगरी पुँजीबजार अझपरिष्कृत बनाउका लागि लगानीकर्ता अझ बढी सजग बन्नु जरुरी देखिन्छ । हल्लाको भरमा लगानी गर्नभन्दा पनि डेटा एनालाइसिस गरेर अगाडी बढे लगानी सुरक्षित हुन्छ त्यसैले लगानीकर्ताहरु थप सचेत भएल लगानी गरु भन्ने उदेश्यले ग्राहक साक्षरता कार्यक्रमलाई पनि आगामी दिनमा बृद्धि गर्दै लैजाने छौ ।
प्रतिक्रिया