वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाइमा मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ गाडी लन्च हुने, राम्रो भिडियोलाई १ लाख

अर्थटुडे
२०८२ श्रावण १२, सोमबार

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)को आयोजनामा यही साउन २१ देखि २५ गतेसम्म ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ हुने भएको छ । नाइमाले सोमबार पत्रकार सम्मेलन गरी सो एक्सपोमा ३५ वटा नयाँ सवारीसाधन लन्च गरिने जानकारी दिएको छ । आइमाका अटो एक्स्पो समिति प्रमुख शिरीष कुमार मुरारकाले यसपटकको

एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुने छ । उनले भृकुटीमण्डप प्रदर्शनी स्थलमा भौतिक पूर्वाधारमा गरिएको सुधार (विशेषतः जलनिकासी, अपांगमैत्री पूर्वाधारजस्ता व्यवस्था) उल्लेखनीय रहेको पनि उनले जानकारी दिए ।

उनका अनुसार यसपटकको एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने छन् । विद्युतीय सवारीसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने छन् । प्रदर्शनीमा १५ वटा दुईपांग्रे, १५ वटा चारपांग्रे, र ५ वटा व्यावसायिक सवारीसाधन सार्वजनिक हुने जानकारी गराइयो । सो एक्सपोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन्।

त्यसपश्चात् मुख्य प्रायोजक संस्थाहरू—एभरेष्ट बैंक लिमिटेडका सहायक महाप्रबन्धक विष्णु प्रसाद ज्ञवाली र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले एक्स्पोसँगको सहकार्यप्रति गर्व व्यक्त गर्दै आगामी दिनमा प्रविधिमैत्री र दिगो यातायात प्रणालीको विकासमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एभरेष्ट बैंक र नेशनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेका प्रदर्शनीमा टिकेटिङ पार्टनरको रूपमा खल्ती बाइ आईएमई, बेभरेज पार्टनरमा माउन्टेन ड्यू, ब्रुइङ पार्टनरमा हिमालयन जाभा, राइड पार्टनरमा पठाओ, सर्भेलेन्स पार्टनरमा एचआईके भिजन, कनेक्टिभिटी पार्टनरमा वल्र्ड लिङ्क, हस्पिटालिटी पार्टनरमा सोल्टी होटल, मेडिकल पार्टनरमा फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनरमा एनसेल, र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन रहेका छन् ।

यस बाहेक संस्थाले प्रदर्शनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा साउन २१ सम्म ‘नाइमा अटो एक्स्पो’ सम्बन्धी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने सहभागीमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने साउन २१ देखि २५ सम्म अपलोड गरिएका १० उत्कृष्ट भिडियोलाई प्रत्येकलाई १० हजार पुरस्कार प्रदान गरिनेछ।

नाइमाका अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने दावी गरिन् । एक्सपो प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल छलफल हुने जानकारी पनि दिइन् ।

प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने छन् भने अन्य दिनका सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेशनजस्ता संस्थाहरूका विज्ञहरूको उपस्थिति रहनेछ ।

प्रदर्शनीको टिकट खल्ती बाइ आईएमईमार्फत उपलब्ध छ । साथै, विक्रि भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रसँग सम्बन्धित छात्रवृत्ति तथा फेलोशिप प्रदान गर्न खर्च गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ