काठमाडौं । १७औं नाडा अटो शो २०२५ आज (मंगलवार) बाट काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम छ। हालै मात्र सम्पन्न नाइमा मोबिलिटी एक्स्पोको दुई सातापछि अर्को ठूलो अटो शो सुरु भएको हो।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको यो प्रदर्शनीको मुख्य आकर्षण ‘फ्लाइङ कार’ र अटोनोमस (स्वचालित) रोबोट हुनेछन्। हालै तातोपानी नाकाबाट भरियाले बोकेर ल्याइएको फ्लाइङ कारको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। चीनको चांगन अटोमोबाइल र इह्याङ्सले सहकार्यमा तयार पारेको यो कार प्रदर्शनीमा एमएडब्ल्यूले प्रदर्शन गर्नेछ।
यस्तै, युनिट्रीको चारपांग्रे अटोनोमस रोबोट पनि एक्स्पोमा प्रस्तुत हुनेछ। साथै, प्रिमियम बाइक ब्रान्ड हार्ले डेविड्सनसहित अन्य लोकप्रिय ब्रान्डको नयाँ मोडल पनि प्रदर्शनमा आउनेछन्।
🔹 के–के देख्न पाइन्छ?
-
१९ वटा ब्राण्डका चारपांग्रे सवारी ब्रान्ड (टाटा, सुजुकी, टेस्ला, बीवाईडी, फोटोन, आदि)
-
१३ वटा ब्राण्डका हल्का व्यावसायिक सवारी ब्रान्ड
-
४ वटा ब्राण्डका दुईपांग्रे सवारी ब्रान्ड (हिरो, यामाहा, रोयल इन्फिल्ड, जोनसन)
-
३५ वटा अटो ब्राण्डका पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक कम्पनी
आयोजक नाडाका अनुसार एक्स्पोमा एक लाखभन्दा बढी अवलोकनकर्ता भित्रिने अपेक्षा गरिएको छ। प्रदर्शनी बिहान १०:३० देखि बेलुकी ७ बजेसम्म खुला रहनेछ।
नाडा अध्यक्ष करण चौधरी यस वर्षको अटो शोमा प्रविधि, संस्कृति र अटोमोबाइललाई नवीन ढंगमा प्रस्तुत गर्ने वताउँछन्।
प्रतिक्रिया