वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थतन्त्रमा दबाब

लगातार चौथो दिन नेप्से ओरालो, बैंकिङदेखि हाइड्रोपावरसम्म कमजोर

अर्थटुडे
२०८२ भाद्र २२, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार कारोबार फेरि ओरालो लागेको छ । ११.५२ अंकले घट्दै नेप्से परिसूचक २७०८ मा झरेको छ । लगातार चार दिन यता बजार ओरालो लाग्दै जानु पूँजी बजारसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक सन्देश भएको विश्लेषकहरूको भनाइ छ ।

कारोबार सुरु भएपछि १:०५ बजे नेप्से २७२७ अंकमा पुगे पनि त्यसपछि बजार झन् तल झर्दै बन्द भएको थियो । आजको कारोबारमा ७९ कम्पनीको मूल्य बढ्दा १७३ कम्पनीको घट्यो ।

फाइनान्स ०.१० र उत्पादन–प्रशोधन ०.०४ अंकले हरियोमा रहे भने, बैंकिङ ०.६५, विकास बैंक ०.०८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६८, लगानी ०.५२, जीवन बीमा ०.४०, माइक्रोफाइनान्स ०.१८, निर्जीवन बीमा ०.१८, अन्य ०.३२ र व्यापार ०.२४ सबै परिसूचकमा गिरावट आयो ।

यद्यपि, केही कम्पनीले बजारमा उत्साह जगाउने प्रयास गरे । हिमस्टार ऊर्जा कम्पनीको मूल्य १० प्रतिशतले उछालिँदै प्रतिकित्ता ३९.४० पुगेको छ । त्यस्तै, युनिभर्सल पावर ५.१२ र समृद्धि फाइनान्स ३.५१ ले बढे । तर, पन्चकन्या माइ हाइड्रोपावर ४.६२ ले, विकास हाइड्रोपावर ३.९२ ले र ओरियन्टल होटल ३.७० ले घट्दा बजारमा दबाब थपियो ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी र युनिभर्सल पावर परे । यूनियन हाइड्रोपावरले २९ करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमाले २७ करोड ४६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २२ करोड १५ लाख रुपैयाँ, हिमालयन डिष्टिलरीले १६ करोड ५ लाख रुपैयाँ र युनिभर्सल पावरले समेत बढी कारोबार गरेको थियो ।

बजार विश्लेषकहरूका अनुसार निरन्तर ओरालो लागिरहेको नेप्सेले लगानीकर्ताको मनोबल मात्रै नभई मुलुकको पूँजी बजारलाई मजबुत बनाउनुपर्ने आवश्यकता पनि देखाएको छ । राष्ट्रिय अर्थतन्त्रमा सेयर बजारको स्वास्थ्य प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसलाई दीर्घकालीन दिगोपनासँग जोडेर हेर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ