वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेन-जी प्रदर्शन तनावग्रस्त

प्रहरीको अश्रुग्याँस र गोली, एक प्रदर्शनकारीको मृत्यु

अर्थटुडे
२०८२ भाद्र २३, सोमबार

काठमाडौं । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन-जी ले गरेको आन्दोलन काठमाडौंमा हिंसात्मक रुप लिँदा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालका अनुसार प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको परिचय खुल्न बाँकी छ । हालसम्म ७०–८० जना घाइतेको सिभिल अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दिउँसो माइतीघर र तिनकुनेबाट छुट्टाछुट्टै नारा–जुलुससहित अघि बढेका प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरस्थित संघीय संसद भवनतर्फ अघि बढेका थिए । केही प्रदर्शनकारीले गेट चढेर संसद भवनभित्र समेत प्रवेश गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार मात्र नभई गोलीसमेत चलाएको छ । संसद भवन वरपर अहिले पनि तनावग्रस्त अवस्था छ ।

यसैबीच, काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिनभर दुई पटक कर्फ्यू आदेश जारी गरेको छ ।

पहिलो आदेश : अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्म नयाँबानेश्वर क्षेत्र (बिष्णुबजार–तीनकुने–रत्नराज्य विद्यालय–संखमुल पुलसम्म) आवतजावत र सभा, जुलुस निषेध।

दोस्रो आदेश : अपराह्न १:०० बजेदेखि राति १० बजेसम्म सिंहदरबार, राष्ट्रपति/उप–राष्ट्रपति कार्यालय वरपर, नारायणहिटी दरबार संग्रहालय क्षेत्र, सामाखुसी लगायतका क्षेत्र थप गरी कर्फ्यू लागू।

प्रशासनले कर्फ्यू उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ