काठमाडौं । आउँदो दशैंलाई लक्षित गर्दै सरकारले असोज ६ गते घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभरका रुटमा सार्वजनिक सवारीसाधन चलाउन परमिट खुला गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले देशभर यातायात सहज बनाउन यस्तो व्यवस्था गरिएको जनाएको हो।
तर, विशेष प्रकृतिका बाटोमा केही आकार–प्रकारका सार्वजनिक सवारीमा पुरानै बन्देज कायम रहनेछ। साथै नारायणघाट–काठमाडौं रुटमा खाद्यान्न ढुवानीबाहेकका ठूला ट्रेलर र सवारी साधनलाई असोज ६ देखि २० गतेसम्म चल्न नपाइने विभागले स्पष्ट पारेको छ।
आयात–निर्यात गर्ने सवारी भने भन्सार कार्यालय खुला हुने दिनमा सो मार्ग प्रयोग गर्न सक्नेछन्। यता मध्यम तथा लामो दूरीका बसमा अग्रिम टिकट बुकिङको व्यवस्था यसपालि पनि निरन्तरता दिइने भएको छ।
यस निर्णयसँगै दशैंतिरको यात्रामा चाप व्यवस्थापन गर्न र सर्वसाधारणलाई सहज बनाउन सरकार सक्रिय देखिएको छ।
प्रतिक्रिया