काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘जो अगुवा उही बाटो…’ । अर्थात जो अग्रस्थानमा बसेर आफै गलत काम गर्छ भने उसले पछाडीकालाई सहि बाटो देखाउदैन । यतिबेला सहकारी संस्थाहरूको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघको गतिविधि र सञ्चालकहरुको भूमिकाले सहकारी अभियानमा यही उखानको चरितार्थ भएको छ ।
सहकारी ऐन -२०७४ मा एउटै व्यक्ति एक भन्दा बढी संघसंस्थाको सञ्चालक बस्न नपाउने व्यवस्था छ । उक्त प्रावधान कार्यान्वयन गर्न नियामक निकाय सहकारी विभागले पटक पटक निर्देशन समेत जारी गर्दै आएको छ । तर, महासंघमा नै कानुनको खिल्ली उडाउँदै, विभागको निर्देशनलाई अटेर गर्दै बरिष्ठ उपाध्यक्षदेखि अधिकांश संचालकहरु दोहोरो तथा तेहेरो पदमा बसिरहेका छन् । सहकारी ऐन कार्यान्वयन गराउने जिम्मेवारी बोकेको विभागको नेतृत्व आफ्नै निर्देशन कार्यान्वयन नहुँदा मुकदर्शक मात्र बनेको छ ।
महासंघभित्र सबैभन्दा बढी कानुन उल्लंघन गर्ने व्यक्तिमा अध्यक्ष पछिको प्रभावशाली वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल छन् । उनी राष्ट्रिय सहकारी बैंकमा समेत गैरकानुनी रुपमा निवर्तमान अध्यक्षको भूमिका बसेर सेवा सुविधा लिइरहेका छन् भने मोरङमा स्टार बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष छन् ।
यसैगरी सहकारी अभियानमा आफले चोखो छवी बनाएको दावी गर्ने महासंघका अर्का उपाध्यक्ष खेम बहादुर पाठक पनि कानुन मिचेरै दोहोरो भूमिका छन् । उनी नेपाल कृषि केन्द्रीय सहकारीको अध्यक्ष हुन् । महासंघको उपाध्यक्ष भएपनि साना किसान सहकारीको मात्र वकालत गरेको भन्दै आलोचित भएका पाठक पछिल्लो समय अध्यक्ष ओमदेवी मल्लसँगको खटपटपछि महासंघका मिटिङहरुमा समेत सहभागि हुन छाडेको स्रोतले बताएको छ । उनी साना किसान लघुवित्त वित्तीय संस्थाको अध्यक्षको भूमिकामा पनि छन् । बैंक, वित्तीय संस्था ऐनले बैंकका सञ्चालकलाई अन्य वित्तीय संस्थामा सञ्चालक बन्न रोक लगाएपनि उनी राजनीतिक पावरका आधारमा उन्मुक्ती पाउदै आएका छन् । यसअघि सहकारी ऐनले पनि कम्पनीमा लगानी गर्न तथा सञ्चालक बस्न नपाउने प्रावधान संसोधन गरी साना किसानको लघुवित्तको हकमा छुट हुने व्यवस्था राख्न उनी सफल भएका थिए ।
यसैगरी सहकारी नेताहरुकै कारण अभियान कमजोर भएको भन्दै बैठकहरुमा र सामाजिक सञ्जालमा चर्को कुरा गर्ने महिला उपाध्यक्ष इन्दिरा पन्त पनि आफै गैरकानुनी रुपमा तेहेरो भूमिका छिन् । उनी रोयल कोअपरेटिभको उपाध्यक्ष तथा जिल्ला कृषि संघ काठमाडौंकी अध्यक्ष हुन् । किसान नभएपनि उनी महासंघमा जानकै लागि कृषि संघको अध्यक्ष बनेकी हुन् । सहकारीलाई राजनीतिमा गर्ने माध्यम बनाएर उनी पछिल्लो समय हाइड्रो व्यवसायीका रुपमा सक्रिय छिन् ।
महासंघका अर्को सञ्चालक टेकप्रसाद चौलागाई पनि केन्द्रीय उपभोक्ता सहकारी संघको अध्यक्ष छन् । कानुन विद्यार्थी हुँ भन्ने उनी आफै कानुन उल्लघन गरिरहेका छन् । सहकारी राजनीतिका लागि उपभोक्ता संघलाई भञ्याङ बनाएका उनले संघलाई भने निश्कृय पारेका छन् । यसअघि विभागले सार्वजनिक सूचना जारी गरी संघलाई कारवाहीको चेतावनी दिएपनि उनले राजनीतिक पावर लगाएर थामथुम पारेका छन् ।
संचालकद्धय सुमन नेपाल र प्रेम प्रसाद सुवेदी तेहेरो भूमिका छन् । नेपाल चण्डेनी मण्डन साना किसान सहकारी संस्थाका अध्यक्ष र जिल्ला कृषि सहकारी संघ काभ्रेको अध्यक्ष छन् । यस्तै सुवेदी जिल्ला सहकारी संघ बाँके तथा लुम्बीनी प्रदेश सहकारी संघको अध्यक्षको भूमिका छन् ।
सञ्चालक हुमाकुमारी जिसी (अञ्जु) जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष छिन् । माधवप्रसाद जोशी सुदुरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्ष, टीका न्यौपाने साना किसान कृषि सहकारी संस्था रुपन्देहीकी अध्यक्ष, एकता शाह लुम्बीनी प्रदेश सहकारी संघको उपाध्यक्ष, योगमाया सुवेदी सुनसरी बचत तथा ऋण सहकारी संघको अध्यक्ष, शारदा दाहाल महिला बहुउद्देश्यीय सहकारी संघको अध्यक्ष छिन् ।
यसैगरी ऐन कानुन कार्यान्वयनका लागि खबरदारी गर्ने महासंघको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्य समेत गैरकानुनी पदमा बसिरहेका छन् । संयोजक भिम प्रसाद तुलाचन जिल्ला सहकारी संघ रुपन्देही र सदस्य अमरनाथ न्यौपाने जिल्ला सहकारी संघ अछामका अध्यक्ष हुन् ।
सहकारी विभागले २०८० मंसिरमै दोहोरो पदको विषयमा ब्याख्या गरेको थियो । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले साधारणसभाको मुखैमा २०८० मंसिर ८ गते सहकारी विभागमा सहकारी ऐन २०७४ को दफा ४१ को उपदफा ५ मा उल्लेख दोहोरो पदको विषय ब्याख्या गरिदिन पठाएको पत्रमा जवाफ लेख्दै मंसिर २० गते विभागले एक व्यक्ति एक समयमा एउटा मात्र संस्था वा संघको संचालक हुन सक्ने स्पष्ट पारेको छ ।
विभागका कानुन अधिकृत भोजराज दाहालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) मा ‘कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा कुनै प्रारम्भिक संस्था वा विषयगत जिल्ला वा प्रदेश संघको सञ्चालक केन्द्रीय संघमा निर्वाचित भई निर्वाचित पदको शपथ ग्रहण लिएपछि त्यस अघि कायम रहेको संस्थाको सञ्चालक समितिको पद स्वतः नरहने ब्यहोरा आदेशअनुसार अनुरोध छ ।’
विभागको पत्रपछि नेफ्स्कूनले साधारणसभा गरी निर्वाचित भएको नेतृत्वले २ वर्ष भन्दा बढी समय कार्यकाल विताइसकेको छ । तर, अहिलेसम्म पनि नेफ्स्कूनका अधिकांश संचालकहरु दोहोरो पदमा छन् ।
माथिल्लो संघमा निर्वाचित भइसकेपछि तल्लो तहको संघ वा संस्थाको पद स्वत नरहने भनेपनि नेफ्स्कूनका अधिकांश संचालकहरु संस्थाहरुको पदमा सक्रिय छन् । तर, अहिलेसम्म विभागले यो विषयमा कुनै कारवाही गर्न सकेको छैन ।
कार्यान्वयन गर्न खोज्ने रजिष्टारकै सरुवा
२०८१ असार असार १९ गते सहकारी विभागका तत्कालिन रजिष्ट्रार पिताम्बर घिमिरेले निर्देशन जारी गर्दै एक महिनाभित्र दोहोरो पदको प्रावधान कार्यान्वयन गर्न र अटेर गरेमा कानुन अनुसार कारवाहीको चेतावनी सहित सार्वजनिक सूचना जारी गरे ।
तर, सहकारी संस्थाहरूको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघले नै सहकारी ऐन कार्यान्वयनमा रजिष्ट्रारलाई असहयोग गर्र्यो । विभागले निर्देशन जारी गरेपछि एक सातामै राष्ट्रिय सहकारी महासंघले असार २५ गते रजिष्ट्रार घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उक्त व्यवस्था कार्यान्वयन गर्न नसकिने जानकारी गरायो । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीलाई समेत रजिष्ट्रारको निर्देशन फिर्ता गराउन दवाव दिइयो ।
महासंघले ऐनको प्रावधान कार्यान्वयन गर्न रजिष्ट्रारलाई राजनीतिक पार्टीमार्फत पनि दबाब दियो । नेकपा एमालेको सहकारी विभागले पनि राष्ट्रिय सहकारी महासंघकै भाषामा तत्काल दोहोरो पदसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न आग्रह गर्दै असार २५ मै विज्ञप्ति जारी गर्यो ।
सहकारी मन्त्री, उनको राजनीतिक पाटी र महासंघको दवावकै कारण रजिष्ट्रार घिमिरेले आफ्नै निर्देशन सामु घुडा टेके । त्यसपछि २०८२ साउन २४ गते अर्को निर्देशन जारी गर्दै दोहोरो पदको प्रावधान कार्यान्वयका लागि पुस मसान्तसम्मको समय दिए । उनले दिएको समय सकिएको पनि ८ महिना पुग्नै लाग्दा समेत विभागले आफ्नै निर्देशन कार्यान्वयन गर्न सकेको छैन ।
पुस मसान्तलगत्तै घिमिरे रजिष्ट्रारबाट सरुवा भइसकेका छन् । उनको स्थानमा आएका अर्का रजिष्टार उमेश ढुंगानाले पनि अहिलेसम्म यो विषयमा चासो देखाएका छैनन् । विभाग स्रोतका अनुसार उनी यो विषय उठाएर सहकारी नेताहरुसँग जोखिम मोल्ने मुडमा देखिदैनन् ।
प्रतिक्रिया