काठमाडौं । लामो समयदेखि दूध बिक्री वितरण प्रक्रियामा समस्या भोग्दै आएका दुध उत्पादक किसानहरूले भुक्तानी नपाएको विरोधमा धर्ना कार्यक्रम सुरु गरेका छन् ।
किसानहरूले पटक–पटक दुध विकास संस्थानलगायत निकायलाई दूधको मूल्य भुक्तानीबारे ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको गुनासो गरेका छन्। भुक्तानी नहुँदा किसानहरू आर्थिक संकटमा परेका छन्। परिवार पालनपोषण, छोराछोरीको शिक्षा–दीक्षा तथा पशुपालनमा समेत कठिनाइ भएको किसानहरूको पीडा छ।
यसै सन्दर्भमा किसानहरूको समस्या उजागर गर्दै आफ्ना जायज माग पूरा गर्न दबाब दिने उद्देश्यले दुध उत्पादक किसानले धर्ना सुरु गरेका हुन् ।
दूध उत्पादक किसानहरुले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरे पछि केहि बेरघम्साघम्सी श्रृजना भएको थियो ।
दूधको मूल्य भुक्तानीका बारेमा पटक–पटक ध्यानाकर्षण गराउँदै आउँदा पनि सम्बोधन नभएपछि अखिल नेपाल किसान महासंघको अगुवाइमा किसानहरुले डीडीसी कार्यालय अगाडि प्रदर्शनसहित धर्ना दिन खोजेका थिए । प्रदर्शनमा काभ्रे, नुवाकोट, धादिङ लगायत काठमाडौं उपत्यका र आसपासका किसानहरुको सहभागिता छ ।
प्रतिक्रिया