काठमाडौं। रुपन्देहीको सानीभेरी नदीमा बन्ने ४४.५२ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा पाँच बैंकले ७ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएका छन्। कुल ९ अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी रहनेछ।
सिटिजन्स बैंकको नेतृत्वमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सामी बैंक र सिद्धार्थ बैंकले संयुक्त लगानी गर्ने सहमति भएको हो। सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नबिल बैंकले १ अर्ब ५० करोड, मेगा बैंकले १ अर्ब २० करोड, सामी बैंक र सिद्धार्थ बैंकले १/१ अर्ब रुपैयाँ लगानी गर्नेछन्।
यसका लागि आवश्यक वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता सोमबार हस्ताक्षर गरिने भएको छ।
यो आयोजना पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १४ मा निर्माण हुने छ। ‘रन अफ दि रिभर’ प्रकारको यो जलविद्युत् आयोजनाले वार्षिक २३८.७१ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको कुल हेड ४४४.५२ मिटर रहनेछ।
मुख्य संरचनामा सानीभेरी नदीको बायाँ किनारमा हेडवर्क्स निर्माण हुने र पावर हाउस पनि पुथा उत्तरगंगाको वडा नं. १४ मै रहनेछ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि करिब २० किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माण गरिनेछ।
प्रतिक्रिया