काठमाडौं । २०६५ साल श्रीपञ्चमीको साइत पारी बचत तथा ऋण सहकारीहरुका छाता निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ‘अन्तरलगानी’ नाममा बैंकिङ कारोबार सुरु गर्याे । त्यसअघि सदस्य संस्थासँग स सानो बचत तथा ऋणको काम गरेपनि काउन्टर नै राखेर बैंकिङ कारोबारको सुरुवात भने तत्कालिन अध्यक्ष मिनराज कडेँलले गरेका थिए ।
बैंकिङ कारोबार सुरु गरेको डेढ दशक भन्दा बढी अवधिमा नेफ्स्कूनको एक अर्ब ५३ करोड रुपैयाँ शेयर पुँजी पुगेको छ । यस्तै संस्थाहरुको २२ अर्ब ११ करोड रुपैयाँ निक्षेप परिचालन गरिरहेको छ । फिल्ड कार्यालय र सेवाकेन्द्रका नाममा देशभर तीन दजर्न शाखा खोलेर वित्तीय कारोबार गर्दै आएको नेफ्स्कूनको व्यवसाय अब भने संकटमा परेको छ ।
नेफ्स्कूनको सिको गर्दै सहकारी संस्थाहरुका जिल्ला तथा राष्ट्रियस्तरका संघहरुले गरिरहेको करिब एक खर्ब रुपैयाँ बराबरको कारोबारको व्यवसाय समेत जोखिममा परेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले शुक्रबार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको मापदण्ड जारी गर्दै संघहरुले सदस्यबाट शेयर, बचत संकलनका साथै ऋण लगानी गर्न समेत कडाइ गरेपनि संघहरुले लामो समयदेखि गर्दै व्यवसाय अप्ठ्यारोमा परेको हो ।
यसअघि गत चैतमा नेपाल राष्ट्र बैंकले संघहरुको वित्तीय कारोबार गर्न नपाउने गरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गरेको थियो । सोही मापदण्डकै आधारमा प्राधिकरणले निर्देशन जारी गर्दै सहकारीको वित्तीय कारोबारमा कडाइ गरेको हो ।
समाचार स्रोतका अनुसार संघहरुले जोखिमपूर्ण रुपमा वित्तीय कारोबार गरिरहेको र यसले सहकारी संस्थाहरुमै संकट ल्याउन सक्ने देखिएपछि मापदण्डमा कडाइ गरिएको हो । गत वर्ष नै नेपाल राष्ट्र बैंक सहितको टोलीले नेफ्स्कूनको अनुगमन गरेको थियो । उक्त अनुगमनमा पाइएको कैफियतका आधारमा राष्ट्र बैंक नेतृत्व संघलाई वित्तीय कारोबारमा निषेध गर्नुपर्ने निश्कर्षमा पुगेको हो ।
स्रोतका अनुसार संघहरुले जोखिमपूर्ण रुपमा आफुखुशी लगानी गरेकाले त्यो जोखिममा छ । यस्तै संघहरुमा जम्मा भएको वित्तीय स्रोतको दुरुपयोग समेत भएको भेटिएको छ ।
सहकारी नेताहरुले आफ्नो मोजमस्ती, विदेश भ्रमण, आर्थिक लाभमा संघको स्रोत दुरुपयोग गरेको पाइएको छ । यसमा नेफ्स्कून नेतृत्व अग्रपङ्तीमा रहेको र त्यसलाई अन्य संघको नेतृत्वले पनि पछ्याउने गरेको सहकारीकर्मी वताउँछन् ।
नेफ्स्कूनलगायतका संघहरुले ठूलो रकम विना धितो र आवश्यक प्रक्रिया पुरा नगरी लगानी गरेका छन् । जसका कारण लगानीमा रहेको रकम उठ्न सम्भावना समेत न्यून रहेको छ । यस्तै सम्भावित जोखिम वापत समेत नछुट्याइ नाफा बाडेर खाने गरेका छन् ।
नेफ्स्कूनको गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदनमा ४ अर्ब १७ करोड कुल कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएपनि जम्मा ५१ करोड ४० लाख मात्र गरेको भन्दै लेखापरिक्षकले एडभर्स ओपिनियन दिएका छन् । कर्जा नोक्सानी व्यवस्था नगरेपनि नेफ्स्कूनले लाभांस वितरण गर्ने निर्णय साधारणसभाबाट पारित गरेपनि सहकारी विभागको निर्देशनमा रोकिएको छ ।
संस्थागत शुसासनको अवस्था कमजोर रहेका संघहरुले बैंकिङ कारोबार गर्दा जोखिम बढेकाले रोक लगाउनु परेको प्राधिकरण स्रोतले जनाएको छ । ‘संघहरुको उद्देश्य सदस्य संस्थाहरुको क्षमता विकास र प्रवद्र्धनको काम गर्ने हो’ प्राधिकरणका एक संचालकले भने, ‘बैंकसरह ठूलो वित्तीय कारोबार गर्दा जोखिम देखिएकाले यसमा रोक लगाइएको हो ।
स्रोतका अनुसार पछिल्लो समय नेफ्स्कून वित्तीय कारोबार बढाउने र कमाउने धन्दामा मात्र लागेको र यसमा संचालकदेखि सिइओसम्मको प्राथमिकता देखिएको छ । तर, वित्तीय कारोबारलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिएको छैन । नेफ्स्कूनको कर्जा लगानीमा समेत नक्कली धितो राखेको भेटिएपनि त्यस्तो बदमासी गर्ने कर्मचारीलाई जोगाउँदै आएका छन् । यसमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र सिइओ शिवजी सापकोटा नै लागेको सहकारी वृत्तमा चर्चा छ ।
सहकारीको वित्तीय अवस्था संकटमा हुँदा यसअघिका अध्यक्ष परितोष पौड्यालले दायित्व बढ्ने गरी भवन तथा सफ्टवेयर निर्माण प्रक्रिया अघि बढाएका थिए । चुनावको मुखमै कसिमनको ठूलो चलखेल गरी उक्त काम सुरु गरिएको सहकारीकर्मीहरु बताउँछन् । पौड्यालले पाटीको कार्यक्रमका लागि समेत नेफ्स्कूनको स्रोत साधन दुरुपयोग गरेको र यसले विकृतीलाई बढावा दिएको नेफ्स्कूनका भुक्तभोगी बताउँछन् ।
प्राधिकरणले शुक्रबार जारी गरेको मापदण्डमा सहकारी संस्थाहरुले सहकारी बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाबाहेकमा शेयर लगानी गर्न नपाउने प्रावधान राखेको छ । यस्तै मापदण्डमा संघहरुमा रहेको बचतलाई तरलतामा गणना नपाइने र तरलतामा गणना गरेको भए दुई वर्ष भित्र मिलान गर्न समय दिएको हो । सहकारी संस्थाहरुसँग होलसेलमा वित्तीय कारोबार गर्ने गरी नेपाल सहकारी बैंक र साना किसान लघुवित्त वित्तीय संस्था स्थापना भएपनि जिल्लादेखि राष्ट्रियस्तरका संघहरुले पनि ‘अन्तरलगानी कार्यक्रम’ का नाममा ठूलो बैंकिङ कारोबार गर्दै आएका थिए ।
नेफ्स्कूनले मात्र संस्थाहरुको २२ अर्ब ११ करोड रुपैयाँ निक्षेप परिचालन गरिरहेको छ । संघमा सदस्य संस्थाहरुको एक अर्ब ५३ करोड रुपैयाँ शेयर पुँजी रहेको छ । नेफ्स्कूनपछि ठूलो कारोबार गर्ने प्रदेश स्तरिय संघ वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कून) ले २ अर्व ६७ करोड रुपैयाँ निक्षेप परिचालन गरिरहेकाे छ । नेफ्स्कून र वागमती प्रोस्कुन बाहेक काठमाडौं, भक्तपुर, ललितपुरका साथै काभ्रे, चितवन, मकवानपुर, मोरङ, झापालगायतका जिल्लाहरुमा पनि बचत संघहरुले सदस्य संस्थाहरुसँग वित्तीय कारोबार गर्दै आएका छन् । कतिपय जिल्लाहरुमा जिल्ला संघहरुले समेत यस्तो वित्तीय कारोबार गर्ने गरेका छन् ।
वागमती प्रोस्कूनले पनि जोखिम व्यवस्था नगरी नाफा देखाएर लाभांस वितरण गरेको भन्दै लेखापरिक्षकले नै टिप्पणी गरेको थियो । बदमासी गर्दै आएका संघहरुले भने राजनीतिक पहुँच तथा आर्थिक प्रलोभनमा नियामक निकायलाई समेत प्रभावित पार्दै आएका छन् ।
संघहरुको वित्तीय कारोबारलाई वैधता दिन नेफ्स्कूनले राष्ट्र बैंक, सहकारी मन्त्री, प्राधिकरणमा लविइङ गर्दै आएको थियो । अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकलाई नेफ्स्कूनको पक्षमा सहमत गराउन कांग्रेस महामन्त्री गगन थापामार्फत लविङ गरेका थिए ।
स्रोतका अनुसार महामन्त्री थापासहितले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलसँग छलफलले पनि नेफ्स्कूनले आफ्नो पक्षमा निर्णय गराउन सकेन । यसैगरी नेफ्स्कूनले प्राधिकरणका पूर्व अध्यक्ष तथा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेललाई थाइल्याण्ड भ्रमण गराउनुका साथै एशियाली सहकारी नियमन अलाएन्स (आक्रा) को अध्यक्ष बनाएको थियो ।
नेपालको विशिष्ट श्रेणीको कर्मचारी भएपनि पोखरेल एउटा गैर सरकारी संस्थाको हैसियतामा रहेको एशियाली ऋण महासंघ (अक्कु) को अध्यक्ष बनेका थिए ।
प्रतिक्रिया