काठमाडौं । जिल्ला-जिल्लामा फिल्ड कार्यालय र सेवा केन्द्र खोलेर बैंकिङ कारोबार गरिरहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले अप्ठेरो परेपनि जिल्ला बचत संघको साथ खोज्न थालेको छ ।
राष्ट्रिय सहकारी नियम प्राधिकरणले जारी गरेको ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धी नियामकीय मापदण्ड, २०८२’ अप्ठेरो परेपछि नेफ्स्कूनले बचत संघहरुको साथ खोज्न थालेको हो । मापदण्डमा प्रारम्भिक संस्थाहरुले सहकारीका संघहरुमा शेयर राख्न नपाउने र बचत रकम पनि रकम तरलतामा गणना नहुने, तेस्रो पक्षको धितोमा ऋणी लगानीमा कडाइ गरेपछि सबैभन्दा अप्ठेरोमा नेफ्स्कून परेको छ ।
प्राधिकरणले जारी गरेको मापदण्डका कारण संस्थाहरुले संघमा शेयर लगानी गर्न नपाउने र संघमा जम्मा गरेको बचत तरलतामा गणना हुने प्रावधानले आफ्नो व्यवसाय बन्द हुने भएपछि नेफ्स्कूनले जेठ ११ गते विज्ञप्ती जारी गरी प्राधिकरणको मापदण्ड विपरित कारोबार गर्न सदस्य संस्थाहरुलाई आवहान गरेको थियो । अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रेस विज्ञप्ती जारी गर्दै नेफ्स्कूनले मापदण्डको भद्र अवज्ञा गर्न र नियमित कारोबार गर्न समेत आग्रह गरेका थिए ।
तर, जेठ १४ गते नेफ्स्कूनसहित वागमती, लुम्वीनी, सुदुरपश्चिम र कोशी प्रदेशका बचत संघहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जेठ २३ गते राष्ट्रिय भेलामार्फत साझा धारणा निर्माण र थप दवावका कार्यक्रम तय गर्ने भन्दै अर्को विज्ञप्ती जारी गरे ।
नेफ्स्कूनले प्रदेश संघहरुसँग मिलेर विज्ञप्ती जारी गरेपछि शुक्रबार मात्र ३४ ओटा जिल्ला बचत संघहरुले छुट्टै संयुक्त विज्ञप्ती जारी गर्दै आम्दोलनको चेतावनी दिएका थिए । संघहरुले छुट्टै विज्ञप्ती जारी गरेपछि नैतिक संकटमा परेको नेफ्स्कूनले बचत तथा ऋण सहकारी अभियानको साझा प्रेस विज्ञप्ती भन्दै सोमबार अर्को विज्ञप्ती जारी गरेको छ ।
विज्ञप्तीमा नेफ्स्कून अध्यक्ष चन्द्रप्रसाद ढकाल, वागमती प्रोस्कून अध्यक्ष उद्धव सापकोटाका साथै तीन वटा प्रदेश बचत संघ र ४४ वटा जिल्ला बचत संघका अध्यक्षहरुको हस्ताक्षर छ । तर, संघले कतिपय अध्यक्षको हस्ताक्षर नै किर्ते गरिएको खुलासा भएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले गरेको भेलामा बोल्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले आफ्नो हस्ताक्षर अनुमति बिना प्रयोग गरेको भन्दै सार्वजनिक रुपमै विरोध गरेका थिए ।
स्रोतका अनुसार नेफ्स्कूनमै संस्थागत शुसाशन कमजोर भएको प्रतिवेदनका आधारमा संघहरुको कारोबारमा कडाइ गरेकाले नेफ्स्कूनको नेतृत्वमा लविङ कमजोर हुने जिल्ला संघका अध्यक्षहरुको बुझाइ छ । यस्तै नेफ्स्कून र प्रदेश संघहरुले आफ्नो स्वार्थमा मात्र बोलेको र जिल्ला बचत संघ तथा प्रारम्भिक संस्थाहरुको समस्यालाई नजरअन्जाद गरेको उनीहरुको बुझाइ छ ।
नेफ्स्कून र जिल्ला बचत संघहरुबीच यसअघि देखि नै दुरी बढ्दै आएको थियो । नेफ्स्कूनले जिल्ला बचत संघहरुलाई वेवास्ता गर्दै फिल्ड कार्यालय खोली बैंकिङ कारोबार गरेको भन्दै विरोध हुने गरेको छ ।
यस्तै नेफ्स्कूनले नीतिगत लविङमा पनि अब ‘टु टायर सिस्टम’ हुनुपर्ने भन्दै बचत संघहरुको अस्तित्व नस्विकारेको भन्दै विरोध हुने गरेको छ । अहिले समस्या परेपछि मात्र नेफ्स्कूनले बचत संघको साथ खोजेको भन्दै सहकारीकर्मीहरुले आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया