काठमाडौ । बैंक कर्जा दुरुपयोगमा कारबाही भोगेका राजेन्द्र खेतान समुहले बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतिय भुक्तानी प्रणाली सेवा उपलब्ध गराउँदै आएको कम्पनी ‘फोन पे’ मा लगानी गर्ने भएको छ । खेतान नेतृत्वको ‘हाउस अफ राज’ ले २० प्रतिशत सेयर हिस्सा लिएर १ अर्ब ४० करोड रुपैयाँ कम्पनीमा गर्न लागेको हो ।
सेयर खरिदका लागि दुवै पक्षबीच सम्झौता भएपनि हालसम्म नेपाल राष्ट बैंकले भने स्वीकृत दिएको छैन ।
तत्कालिन लक्ष्मी बैंकको संस्थापक अध्यक्ष रहेका खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ जरिवाना तिराएको थियो । उनले लक्ष्मी बैंक हुदा नै कर्जा दुरुपयोग गरेका थिए तर सनराइज बैंकसँग मर्जभएपछि राष्ट्र बैंकको अनुगमनका क्रममा सो कुरा बाहिर आएको थियो ।
फोन पे नेपालमा सन् २०१९ मा स्थापित संस्था हो । संस्थाको अध्यक्ष पुर्व बैंकर शशिन जोशी छन् भने संचालकमा कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाका छोरा सम्भव सिरोहिया र सिद्धान्त ठकुरी छन् ।
फोन पे, एफवान सफ्ट इन्टरनेशनल समूहअन्तर्गतको भुक्तानी सेवा प्रदायक कम्पनी हो, जसले हाल नेपालभर ठूलो मात्रामा डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा फोन पेमार्फत २० खर्बभन्दा बढीको अन्तरबैंक रकम ट्रान्सफर भएको थियो । कम्पनीले क्यूआरमार्फत भुक्तानी, भारतीय पर्यटकलाई लक्षित सेवा, र यूपीआई कारोबारजस्ता सुविधाहरू सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया