वि.सं. २०८२ भाद्र ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बोर्ड अध्यक्ष कार्कीले भने — बजारमा कालोधनबारे सत्यतथ्य बुझ्न समिति बनाउँदा लगानीकर्ता हतोत्साहीत भएकोले समिति खारेज गरिएको हो

अर्थटुडे
२०७३ श्रावण २५, मंगलवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सेयर बजारमा देखिएको उतारचढाव चाँडै अन्त्य हुने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष डा. कार्कीले,‘लगानीकर्ता अहिले हतोत्साहित हुनुपर्ने र आत्तिनुपर्ने अवस्था नभएको बताउँदै बजार सुधारोन्मुख रहेको बताए । कार्कीले पछिल्लो राजनीतिक परिवर्तनको कारणले पनि यस्तो समस्या आएको भन्ने हल्ला चलेपनि त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।
उनले थपे,‘आजै मात्र मैले अर्थमन्त्रीसँग भेट गरेको छु, उहाँ पुँजी बजारलाई प्रोत्साहन गर्ने कुरामा सकारात्मक हुनुहुन्छ ।’
डा. कार्कीले संस्थागत लगानीकर्ता नहुँदा बजारमा समस्या देखिएको टिप्पणी गरे । उनले भने,‘बोर्ड पुँजी बजारलाई नियमन गर्दै चुस्त र दुरुस्त वातावरण बनाएर सहजीकरण गर्न प्रतिबद्ध छ ।’
धितोपत्र बोर्डले बजारमा कालो धनको प्रवेश छ कि छैन भनेर छानबिन गर्न समिति बनाएको तर यसका कारण लगानीकर्ता हतोत्साहित बनेको कारणले आफूहरुले उक्त समिति विघटन गरेको उनको तर्क थियो ।
उनले थपे,‘हामी पछि हटेको भन्ने कुरामा सत्यता छैन, हामीले त लगानीकर्तालाई सुरक्षित महशुस होस र द्धिविधामा नपरुन भनेर समिति विघटन गरेको र दोस्रो विज्ञप्ती जारी गरेका हौं ।’
लगानीकर्तामा गलत बुझाइ पर्न गएको र धितोपत्र बजारमा समेत नकारात्मक प्रभाव परेको भन्दै बोर्डले उक्त समिति खारेज गरेको कार्कीको दाबी थियो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले पछिल्लो समय शेयर बजार विवेकसंगत ढंगले चलेको छ कि छैन भन्ने कुरामा आशंका रहेको तर्क गर्दैै भने,‘सेयर बजारमा अहिले भाईरल ज्वरोको संकेत देखिएको छ, हिजो ८८ अंकले घटेको नेप्से आज ८४ अंकले बढनुलाई मैले अस्भाविक मानेको छु ।’
क्षेत्रीले नेपाली बजारमा पुँजी बजार प्रणालीको बारेमा ज्ञानको अभाव रहेको समेत गुनासो पोखे । उनले नियामक निकायले बजार अनुगमन गर्ने कुरामा विशेष पहलकदमी लिनुपर्ने सुझाव दिए ।
ब्रोकरहरुले आफ्नो कमिशन वापतको रकम घटेपछि बजार प्रभाव पार्न कारोबारमा ध्यान नदिँदा पनि अहिलेको समस्या उत्पन्न भएको उनको तर्क थियो ।
ईन्भेस्टर फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेले सेयर बजार लोभ र डरको संयोजनको रुपमा टिप्पणी गर्दै अस्वभाविक रुपमा बढेको सेयर सच्चिएको बताए । यद्धपी उनले दुई चार दिनदेखि भएको सेयर बजारको प्रवृक्ति अस्भाविक भएको टिप्पणी गरे ।
घिमिरले सरकार परिवर्तन, धेरैजसो ब्रोकर नै लगानीकर्ता बन्ने गरेको जस्ता कारण पनि समस्याको रूपमा रहेको चित्रण गर्दै यसबारेमा नियामन निकायले अनुसन्धान गर्नुपर्ने सुझाव दिए । उनले बजार चलाउनको लागि सुशासन चाहिने भन्दै त्यतातिर नियामक निकायको ध्यान जान जरुरी रहेको बताए ।
घिमिरेले थपे,‘कमाईको मात्रा पनि कति छ भन्नेबारेमा पनि पारदर्शी हुनुपर्छ, गलत लगानीकर्ता भए त्यसमा पनि छानविन गर्नुपर्छ ।’ उनले पछिल्लो समय सेयर बजारमा कमाई छ भन्ने भएकाले पनि यसको आकार्षण ह्वात्तै बढेको स्पष्ट पारे ।
स्टक ब्रोकर्स एशोसियसनका अध्यक्ष प्रियराज रेग्मीले मार्केट फोर्सका कारण बजार घटबढ भएको तर्क गरेका छन् । उनले भने,‘बजार तलमाथि हुनुमा ब्रोकरको कुनै हात छैन्, अहिले हामी अचानो बनेका छौं ।’ उनले लगानीकर्ताले जे चाहन्छ आफुहरुले त्यही गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।
उनले स्टोक एक्सचेन्जमा व्यवसायिक क्षमता बढाउनुपर्नेतर्फ समेत ध्यानाकार्षण गराए । उनले थपे,‘टेक्नोलोजी फ्रेण्डली भयो भने त्यति समस्या हुँदैन् ।’
उनले लगानीकर्ताको विश्वासमा कमी आएका कारण बजार उच्च बिन्दुले ओर्लेको दाबी गर्दै भने,‘आत्तिएर सेयर बेच्न थालेपछि बजारमा आपूर्ति बढेको र केही दिन संयमित भएर बसेकाले पनि सेयर फ्याँक्न थालेका थिए, हामीले त उनीहरुले जे भन्छन त्यही गर्ने हो ।’
सोमबार अप्रत्याशित रुपमा पहिरो गएको सेयर बजारमा मंगलबार खुसीयाली छाएको छ । सोमबार ८८ अंकले गिरेको बजार मंगलबार झन्डै त्यही अनुपातमा उक्किलएको छ ।
मंगलबार बजार खुलेदेखि नै निकै तीव्र गतिमा उकालो लागेको नेप्से एकघन्टामै ८४.५१ अंकले बढेको छ। सोमबार १६७५ मा ओर्लिएको बजार मंगलबार बुलकै शैलीमा बुर्कुशी मारेर १७६०.४२ अंकमा उक्लिएको छ। सोमबार शोकमय भएको सेयर बजारमा मंगलबार एकाएक खुसीयाली छाएको छ ।
पूर्ण स्वचालित कारोबार प्रणाली स्थापित गर्ने क्रममा नेप्सेलाई पटक–पटक निर्देशन दिइरहेको छ । लगानीकर्ताले बजारको गहिराई (मार्केट डेफ्थ) हेर्न सक्ने व्यवस्था ग¥यो । यो व्यवस्थाले सबै लगानीकर्तालाई कुन कम्पनीको सेयरमा कति माग र आपूर्ति छ भनेर हेर्न सुविधा दिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ