वि.सं. २०८३ आश्विन २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ पुस्ताका उद्यमी खोज्दै ‘नबिल एसएसई’ को नयाँ संस्करण

नयाँ पुस्ताका उद्यमी खोज्दै ‘नबिल एसएसई’ को नयाँ संस्करण
Author
अर्थटुडे
२०८३ आश्विन २१, बुधबार

काठमाडौं । सामाजिक समस्या समाधान गर्ने नयाँ सोच भएका युवालाई उद्यमशीलताको बाटोमा अघि बढाउने उद्देश्यले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिपको नयाँ संस्करण सुरु भएको छ । नबिल बैंकले फेलोसिपको सातौं समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको हो ।

सामाजिक, आर्थिक तथा वातावरणीय प्रभाव सिर्जना गर्न सक्ने उद्यमशील सोच भएका १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले फेलोसिपका लागि आवेदन दिन सक्नेछन् । एसएसईमार्फत बैंकले नयाँ सोच भएका युवालाई व्यवसायिक सीप, मार्गदर्शन र उद्यम विकासको अवसर प्रदान गर्दै आएको छ।

नयाँ समूहका लागि आवेदन खुला भएसँगै बैंकले यसपटक पनि ‘आइडिया’ मात्र भएका तर त्यसलाई उद्यममा रूपान्तरण गर्न चाहने युवादेखि प्रारम्भिक चरणका उद्यमीलाई समेत लक्षित गरेको छ । यसका लागि फेलोसिपमा सहभागी हुन पूर्णरूपमा दर्ता भइसकेको कम्पनी अनिवार्य नभएको र समस्या वा अवसर पहिचान गरी त्यसको समाधानका रूपमा उद्यमशील सोच अघि बढाइरहेका व्यक्ति पनि आवेदनका लागि योग्य हुने व्यवस्था गरिएको छ ।

छ महिनाको गहन सिकाइ

नबिल एसएसई फेलोसिप त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ । छ महिनाको यो कार्यक्रममा आवासीय सिकाइ, व्यवहारिक अभ्यास, अनुभवी उद्यमी तथा विज्ञसँगको अन्तरक्रिया, मेन्टरसिप, फिल्ड एक्सपोजर र पिचिङलगायतका गतिविधि समावेश छन्।

कार्यक्रममा सहभागीले कम्तीमा ९० प्रतिशत उपस्थिति गर्नुपर्नेछ । करिब १८ दिनको आवासीय सिकाइ मासिक चरणमा सञ्चालन हुने व्यवस्था छ । प्रत्येक फेलोलाई मेन्टरसँग जोड्ने र कार्यक्रमको योजनाअनुसार मेन्टरसिप तथा पूर्वसहभागीको नेटवर्कबाट एक वर्षसम्म सहयोग लिन सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

फेलोसिपको उद्देश्य केवल तालिम दिएर सकिने नभई सहभागीको सोचलाई परीक्षण, परिमार्जन र विस्तार गर्दै दिगो उद्यमतर्फ लैजानु रहेको बैंकले जनाएको छ । व्यवसायिक योजना तथा उद्यमको प्रस्तावलाई सम्भावित लगानीकर्ता तथा वित्तीय संस्थासमक्ष प्रस्तुत गर्न सक्ने क्षमतासमेत विकास गर्ने कार्यक्रमको लक्ष्य छ।

बैंकले यसअघि नै फेलोसिपबाट छनोट भएका युवालाई उद्यम सञ्चालनमा सहयोग गर्ने र उनीहरूलाई आवश्यक ज्ञान तथा सीप उपलब्ध गराउँदै आएको जनाएको थियो। कार्यक्रममार्फत तयार भएका उद्यमीले रोजगारी सिर्जना गर्न थालेपछि बैंकको सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई व्यवसायिक प्रभावसँग जोड्ने आधारसमेत बनेको छ।

नयाँ फेलोसिप समूहसँगै नबिल एसएसईले सर्टिफिकेट कोर्सको नयाँ समूह पनि सञ्चालन गर्दैछ । तीन महिनाको यो कोर्स विद्यार्थी, सम्भावित उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सूक्ष्म एवं साना व्यवसायीलाई लक्षित गरिएको छ ।

फेलोसिप तुलनात्मक रूपमा स्पष्ट उद्यम वा समाधान लिएर गम्भीर रूपमा अघि बढ्न चाहनेका लागि केन्द्रित रहेको र सर्टिफिकेट कोर्स उद्यमशीलताको आधारभूत ज्ञान लिन, आफ्नो व्यवसायिक सोच विकास गर्न तथा प्रारम्भिक व्यवसायलाई बलियो बनाउन चाहनेका लागि रहेको बैंकले जनाएको छ । कोर्समा उद्यमशील सोच, अवसर पहिचान, व्यवसाय मोडल विकास, ग्राहक तथा बजार बुझाइ, वित्तीय आधार, मार्केटिङ, सञ्चालन तथा उद्यम व्यवस्थापनका विषयमा व्यवहारिक ज्ञान दिइनेछ । अनुभवी उद्यमी, विज्ञ तथा व्यवसायिक क्षेत्रका व्यक्तिसँगको अन्तरक्रिया र व्यावहारिक अभ्यास पनि कोर्सको हिस्सा हुनेछ ।

नबिल बैंकका लागि एसएसई नयाँ उद्यमी खोज्ने मात्र होइन, बैंकिङ क्षेत्रको सामाजिक भूमिकालाई फराकिलो बनाउने प्रयास पनि हो। बैंकलाई केवल पैसा राख्ने र झिक्ने स्थानका रूपमा बुझ्ने परम्परागत धारणाभन्दा बाहिर गएर उद्यमशीलता विकासमा बैंकले योगदान गर्न सक्छ भन्ने सन्देश दिन कार्यक्रम सुरु गरिएको बैंकका अधिकारीहरूले बताउँदै आएका छन् ।

फेलोसिपको सातौं समूहका लागि आवेदन दिने अन्तिम मिति १२ अक्टोबर २०२६ अर्थात् २६ असोज २०८३ तोकिएको छ । इच्छुक व्यक्तिले बैंकको आधिकारिक वेवसाईट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सन् २०२१ देखि सुरु भएको नबिल एसएसईमा हालसम्म एक हजार ५८० भन्दा भन्दा बढी सहभागी भइसकेका छन् । कार्यक्रमका सहभागीले ३१८ वटा उद्यम स्थापना गरेको र १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?