काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान र मुद्दाका कारण लगातारको नेतृत्व परिवर्तनका कारण अस्थिर बनेको हिमालयन रिइन्स्योरेन्समा फेरि सञ्चालक समिति पुनर्गठन भएको छ । कम्पनीले संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा तीन जना नयाँ प्रतिनिधि नियुक्त गरेको हो।
कम्पनीको असोज १५ गते (विहिबार) बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा नयाँ प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको हो । नयाँ सञ्चालकमा नेपाल बैंकको तर्फबाट होमबहादुर खड्का, हंसराज हुलासचन्द एन्ड कम्पनीको तर्फबाट नितेश तोदी र कालिका फिन्कर्पको तर्फबाट पल्लव श्रेष्ठ मनोनित भएका छन्। उनीहरूको मनोनयन आगामी वार्षिक साधारणसभासम्मका लागि स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।
यससँगै पछिल्ला केही महिनादेखि लगातार फेरबदल हुँदै आएको हिमालयन रिको सञ्चालक समिति फेरि नयाँ संरचनामा पुगेको छ।
अध्यक्षदेखि उच्च व्यवस्थापनसम्म निरन्तर फेरबदल
हिमालयन रिमा पछिल्लो समय सञ्चालक समितिदेखि उच्च व्यवस्थापनसम्म नेतृत्व परिवर्तनको क्रम रोकिएको छैन । सरकारको छानबिन प्रक्रिया र कम्पनीसँग सम्बन्धित संस्थापक शेयरधनी तथा व्यवसायीहरूमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ, बीमा तथा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढेपछि कम्पनीको नेतृत्वमा निरन्तर परिवर्तन देखिएको हो ।
यसअघि फागुन २५ गते तत्कालीन अध्यक्ष शेखर गोल्छाले सञ्चालक समिति अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए । त्यसपछि चैतमा उदयकुमार निरौला अध्यक्ष बने ।
तर, निरौलाले पनि लामो समय पदमा नरही भदौ २९ गते व्यक्तिगत कारण देखाउँदै अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा भदौ ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरिएसँगै कम्पनी अध्यक्ष पद रिक्त छ ।
यसअघि नै सञ्चालक समितिका अन्य सदस्यसमेत परिवर्तन भएका थिए । वैशाखमा एकैपटक चार सञ्चालकको राजीनामा स्वीकृत गर्दै नयाँ सञ्चालक नियुक्त गरिएको थियो । त्यसपछि पनि उच्च व्यवस्थापनमा स्थिरता कायम हुन सकेन।
यसैगरी कम्पनीको उच्च व्यवस्थापनमा समेत उस्तै अस्थिरता देखिएको छ। आर्थिक हिनामिनासम्बन्धी आरोपपछि प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल फरार कम्पनीले असार २ गते नायब प्रमुख कार्यकारी अधिकृत मुकेशकुमार कपुरलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको थियो।
तर, जिम्मेवारी सम्हालेको केही दिनमै कपुरले पनि राजीनामा दिएका थिए । असार ८ गते बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो । त्यसयता कम्पनीमा सिइओ पद पनि खाली छ ।
नयाँ सञ्चालक थपिए पनि चुनौती कायमै
लगातारको सञ्चालक हेरफेरपछि संस्थागत स्थायित्व कायम गर्न कम्पनीले नयाँ प्रतिनिधिहरू ल्याएको हो । पछिल्लो नियुक्तिले सञ्चालक समितिमा संस्थापक शेयरधनीको प्रतिनिधित्वलाई पुनः व्यवस्थित गर्ने प्रयास भए पनि कम्पनीमाथिको नियामकीय तथा कानुनी दबाब भने कायमै छ ।
नेपाल बीमा प्राधिकरणले समेत कम्पनीको अवस्थाबारे अनुगमन गरेको थियो। कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने चर्चा चले पनि तत्कालका लागि नियामकले नयाँ व्यवसाय विस्तारमा रोक लगाएको अवस्था छ ।
पुनर्बीमा व्यवसायमा ठूलो लगानी र विस्तारको चरणमा रहेको हिमालयन रिमा एकपछि अर्को गर्दै सञ्चालक तथा उच्च व्यवस्थापन तहमा देखिएको फेरबदलले कम्पनीको आगामी रणनीति, व्यवसाय विस्तार र व्यवस्थापकीय निर्णयमा प्रभाव पार्न सक्ने जोखिम देखिएको छ ।
प्रतिक्रिया