काठमाडौं । विश्व आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको अवस्था एक स्थान खस्किएको छ। क्यानडास्थित फ्रेजर इन्स्टिच्युट र समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘इकोनोमिक फ्रिडम अफ द वर्ल्ड–२०२६’ प्रतिवेदनअनुसार नेपाल १६५ देशमध्ये ९०औँ स्थानमा परेको छ। गत वर्ष नेपाल ८९औँ स्थानमा थियो। यद्यपि, नेपालको समग्र आर्थिक स्वतन्त्रताको अंक भने सामान्य रूपमा बढेको छ। १० पूर्णाङ्कमा नेपालले ६.५९ अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको ६.५८ अंकभन्दा केही बढी हो।
प्रतिवेदनले आर्थिक स्वतन्त्रतालाई सरकारको आकार, कानुनी व्यवस्था तथा सम्पत्तिको अधिकार, स्वस्थ मुद्रामा पहुँच, अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रता र नियमन गरी पाँच प्रमुख क्षेत्रमा मूल्यांकन गरेको छ। २०२६ को प्रतिवेदनमा प्रयोग गरिएको तथ्यांक सन् २०२४ सम्मको हो।
व्यापार स्वतन्त्रतामा सुधार, नियमनमा गिरावट
पाँच प्रमुख सूचकमध्ये नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रतामा उल्लेख्य सुधार गरेको छ। यस क्षेत्रमा नेपाल १२६औँ स्थानबाट ११७औँ स्थानमा उक्लिएको छ। अंक पनि ६.२१ बाट बढेर ६.३९ पुगेको छ।
तर अन्य चार सूचकमा नेपालको वरियता घटेको छ। सरकारको आकारमा नेपाल ४९औँबाट ५१औँ स्थानमा झरेको छ। यस क्षेत्रमा अंक ७.२९ बाट घटेर ७.२५ भएको छ।
त्यस्तै, कानुनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षामा नेपाल ९१औँबाट ९६औँ स्थानमा पुगेको छ। अंक ४.९२ बाट घटेर ४.८२ भएको छ। स्वस्थ मुद्रामा पहुँचमा नेपालको अंक ७.३७ बाट बढेर ७.५७ पुगे पनि वरियता ९६औँबाट १०१औँमा झरेको छ। नियमनमा भने नेपाल ३७औँ स्थानबाट ५०औँ स्थानमा पुगेको छ। यस क्षेत्रको अंक ७.१२ बाट घटेर ६.९० भएको छ। प्रतिवेदनका पाँच प्रमुख क्षेत्रअन्तर्गत रहेका २४ उप–सूचकमा नेपाल ७ वटामा सुधार, ६ वटामा गिरावट र ११ वटामा यथावत् रहेको छ।
कोरोना महामारीको गिरावटबाट सुधार
समग्र वरियतामा एक स्थान तल झरे पनि नेपालको आर्थिक स्वतन्त्रताको अंक भने कोरोना महामारीको अवधिमा आएको गिरावटबाट पूर्णरूपमा सुधार भएको प्रतिवेदनले देखाएको छ। सन् २०१९ मा नेपालले ६.५२ अंकसहित ९८औँ स्थान हासिल गरेको थियो। सन् २०२० मा अंक घटेर ६.३१ पुगेपछि नेपाल १००औँ स्थानमा झरेको थियो। अहिले अंक ६.५९ पुगेको छ।
फ्रेजर इन्स्टिच्युटका अनुसार आर्थिक स्वतन्त्रताको उच्च स्तर भएका मुलुकमा आर्थिक समृद्धि, नागरिक तथा राजनीतिक स्वतन्त्रता र औसत आयु तुलनात्मक रूपमा बढी हुने देखिन्छ। प्रतिवेदनअनुसार आर्थिक स्वतन्त्रताको माथिल्लो २५ प्रतिशतमा रहेका मुलुकमा सन् २०२४ को औसत प्रतिव्यक्ति आय ६५ हजार ५९६ अमेरिकी डलर थियो भने तल्लो समूहमा यो ९ हजार ५५२ डलर थियो।
हङकङ पहिलो, भारत नेपालभन्दा अगाडि
विश्व आर्थिक स्वतन्त्रताको वरियतामा हङकङ पहिलो स्थानमा रहेको छ। त्यसपछि स्विट्जरल्यान्ड, सिंगापुर, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिका क्रमशः अगाडि छन्। नेपालभन्दा अगाडि रहेको भारत ८८औँ स्थानमा छ। जापान १३औँ, जर्मनी १९औँ, फ्रान्स ३९औँ, चीन ११०औँ र रुस १४३औँ स्थानमा छन्। भेनेजुएला सबैभन्दा अन्तिम अर्थात् १६५औँ स्थानमा छ। फ्रेजर इन्स्टिच्युटले आर्थिक स्वतन्त्रता सञ्जालसँगको सहकार्यमा यो प्रतिवेदन वार्षिक रूपमा प्रकाशन गर्दै आएको छ। नेपालमा समृद्धि फाउण्डेशनले लगातार १९औँ पटक प्रतिवेदन सार्वजनिक गरेको हो। नोट: यो २०२६ को प्रतिवेदन भए पनि यसको तुलनात्मक अन्तर्राष्ट्रिय तथ्यांक सन् २०२४ मा आधारित छ।
प्रतिक्रिया