वि.सं. २०८३ आश्विन २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जडिवुटी संकलनमा गएकामध्ये १ को मृत्यु ९ जना सम्पर्क विहिन

जडिवुटी संकलनमा गएकामध्ये १ को मृत्यु ९ जना सम्पर्क विहिन
Author
अर्थटुडे
२०८३ आश्विन ११, आईतवार

काठमाडौं । मुगुबाट हुम्लामा जडिबुटी ‘कटुको’ संकलन गर्न गएकामध्ये एक जनाको मृत्यु भएको छ भने नौ जना सम्पर्कविहीन भएका छन्। हुम्लाकाे चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट कटुको संकलनका लागि हुम्ला पुगेका २२ वर्षीय गणेश बुढाको हिउँमा परेर मृत्यु  छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाका अनुसार भदौ २८ गते १३ जना स्थानीय कटुको संकलनका लागि बागेढुंगा सामुदायिक वन पुगेका थिए। उनीहरूले त्यहाँ जडिबुटी संकलन गरिरहेका बेला सामुदायिक वन उपभोक्ता समितिले कटुको संकलन गर्न नदिएपछि उनीहरू फर्किएका थिए।

फर्कने क्रममा घुँडासम्म हिउँ जमेको क्षेत्रमा बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र त्यस क्षेत्रमा भारी हिमपात भइरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पापुका २८ वर्षीय बलबहादुर बुढा, २७ वर्षीय प्रकाश बुढा, ३६ वर्षीय ललितजंग बढुवाल, ३५ वर्षीय जयबहादुर बढुवाल र २६ वर्षीय अ‍ेखबहादुर रोकाय सम्पर्कविहीन छन्।

त्यस्तै, छाइलका ३६ वर्षीय जयबहादुर रोकाय, ४२ वर्षीय वीरबहादुर ऐडी, २३ वर्षीय प्रेम रोकाय र १९ वर्षीय पवन रोकाय पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। स्थानीयवासी शेरबहादुर बुढाका अनुसार टोलीमा रहेका पापुका ३६ वर्षीय बच्चा बुढा, ३४ वर्षीय प्रिय बुढा र १६ वर्षीय सर्जन बुढा भने सम्पर्कमा आएका छन्।

हुम्ला र मुगु दुवै जिल्लाको सीमाक्षेत्रमा पर्ने भएकाले घटनाको वास्तविक अवस्था पत्ता लगाउन दुवै जिल्लाका सुरक्षा निकायले खोजी तथा अनुसन्धान अघि बढाएका छन्। सम्पर्कविहीनहरूको खोजीका लागि थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?