काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनले आगामी चार वर्षका लागि कम्पनीको नेतृत्व सम्हाल्नेछन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन्।
शर्माले डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहककेन्द्रित वित्तीय सेवाको विकासमा काम गर्दै आएका छन्। टोली नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाउनसमेत उनको उल्लेखनीय अनुभव रहेको इसेवाले जनाएको छ।
बैंकिङ तथा डिजिटल वित्तीय सेवाको क्षेत्रमा लामो अनुभव भएका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। इसेवा सञ्चालक समितिले शर्माको अनुभव, नेतृत्व क्षमता तथा डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञताले कम्पनीका आगामी रणनीतिक प्राथमिकतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल भएसँगै कम्पनीले नयाँ नियुक्ती गरेको हो ।
प्रतिक्रिया