वि.सं. २०८३ आश्विन २४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको प्रतिवेदन कार्यान्वयन हुने

नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको प्रतिवेदन कार्यान्वयन हुने
Author
अर्थटुडे
२०८३ आश्विन १४, बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचनागत सुधार तथा प्राविधिक सुदृढीकरणको प्रक्रिया अघि बढाउने भएको छ। अर्थ मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार अघिल्लो सरकारका पालामा रामेश्वर खनालको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लैजाने तयारी सुरु भएको सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बताएका छन्।

बुधबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष भट्टले पुँजी बजारको विद्यमान संरचना तथा पछिल्लो समय नेप्सेमा देखिएका साइबर सुरक्षा चुनौतीलाई गम्भीर रूपमा लिइएको बताए। नेप्सेको कार्यक्षमता, सुशासन र संस्थागत क्षमता सुधारका लागि आगामी सातादेखि नेप्से सञ्चालक समितिसँग छलफल गरी पुनर्संरचनाको प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।

नेप्सेको स्वामित्व तथा संरचनागत परिवर्तन सरकारको क्षेत्राधिकारमा पर्ने भए पनि नियमनकारी निकायका रूपमा सेबोनले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सुधारका काम अघि बढाउने अध्यक्ष भट्टले बताए।

‘नेप्सेको स्वामित्व तथा पुनर्संरचनाको विषय सरकारले हेर्नेछ। अर्थ मन्त्रालयले यससम्बन्धी पूर्ववर्ती समितिको प्रतिवेदन कार्यान्वयनका लागि बोर्डलाई पत्र पठाइसकेको छ,’ उनले भने, ‘त्यसका आधारमा सेबोनले नेप्सेसँग छलफल गरी आफ्नो क्षेत्राधिकारभित्र पर्ने सुधार प्रक्रिया अघि बढाउनेछ।’

सेबोनले नेप्सेको साइबर सुरक्षा, सूचना प्रविधि प्रणाली, सुशासन तथा संस्थागत क्षमता सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। पछिल्लो समय नेप्सेको प्रणालीमा देखिएका प्राविधिक तथा साइबर सुरक्षासम्बन्धी चुनौतीलाई सम्बोधन गर्न संरचनागत सुधारसँगै प्रविधि प्रणालीको सुदृढीकरणलाई समेत अघि बढाइने भएको हो।

यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को सुधारका लागि अर्थ मन्त्रालयबाट प्राप्त २१ बुँदे निर्देशन कार्यान्वयनको प्रक्रिया पनि सुरु भएको अध्यक्ष भट्टले जानकारी दिए।

सीडीएससीलाई भविष्यमा सेन्ट्रल काउन्टर पार्टी (सीसीपी) का रूपमा विकास गर्ने योजना रहेको उनले बताए। सीसीपी प्रणाली कार्यान्वयनमा आएपछि शेयर कारोबारको सेटलमेन्ट प्रक्रियामा थप सुरक्षा तथा कारोबारको दायित्व सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बोर्डले नेपाली पुँजी बजारमा नयाँ वित्तीय उपकरण र कारोबार प्रणाली भित्र्याउने तयारीसमेत अघि बढाएको छ। त्यसअन्तर्गत इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ्स जस्ता उपकरणका लागि आवश्यक पूर्वाधार निर्माण तथा नियामकीय तयारी गरिने भएको छ।

सेबोनका अनुसार यस्ता नयाँ उपकरण र कारोबार प्रणाली विस्तार भएपछि बजारको दायरा फराकिलो हुनुका साथै पुँजी बजारको समग्र इकोसिस्टममा समेत परिवर्तन आउने अपेक्षा गरिएको छ। नेप्सेको संरचनागत सुधार, प्रविधि तथा साइबर सुरक्षा सुदृढीकरण, सीडीएससीको संस्थागत विकास र नयाँ वित्तीय उपकरणको प्रवेशलाई एकसाथ अघि बढाउने तयारीले नेपालको पुँजी बजार सुधारको प्रक्रियालाई नयाँ चरणमा लैजाने देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

Author
अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

छुटाउनुभयो कि ?