काठमाडौं । भारतले नेपाललाई पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सहयोग घोषणा गरेका हुन् ।
नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालसँगको विकास साझेदारीलाई थप विस्तार र मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतबाट घोषणा गरिएको सहयोग नेपालको पुनर्निर्माण, विकास आयोजना तथा दीर्घकालीन आर्थिक विकासमा उपयोग हुने अपेक्षा गरिएको छ । विशेषगरी बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विकास आयोजनालाई गति दिन भारतसँग सहयोग प्रस्ताव गरिएको थियो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच विकास साझेदारी विस्तार, पुनर्निर्माण तथा आर्थिक सहकार्यका विषयमा छलफल भएको छ । भारतले नेपालको क्रिकेट विकासमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपालमा क्रिकेट पूर्वाधार निर्माण, खेलाडीको तालिम तथा खेलकुद विकासका लागि सहयोग बढाउने मोदीले बताएका छन् । क्रिकेटको लोकप्रियता बढ्दै गएको नेपालमा पूर्वाधार र प्रशिक्षणको अवसर विस्तार गर्न भारतीय सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने तथा विकास साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ । आर्थिक सहयोग, पुनर्निर्माण र खेलकुद विकासमा भारतको प्रतिबद्धताले नेपाल–भारत सहकार्यका नयाँ क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया