काठमाडौं । जीवन बीमाको ग्राहक र बीमा सुरक्षा प्राप्त गर्ने व्यक्तिमध्ये महिलाको हिस्सा पुरुषको भन्दा बढी छ । तर, यही बीमा व्यवसाय सञ्चालन गर्ने संस्थाको नेतृत्व तहमा भने पुरुषको वर्चस्व देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले गरेको एक अध्ययनमा बीमा सेवाको उपभोक्ताका रूपमा महिलाको सहभागिता बलियो भए पनि संस्थागत निर्णय प्रक्रिया र उच्च व्यवस्थापनमा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको देखाएको छ । प्राधिकरणले सार्वजनिक गरेको ‘इन्स्योरेन्स थ्रु अ जेन्डर लेन्स : अ फेमा–मिटर एसेसमेन्ट इन नेपाल’ प्रतिवेदनअनुसार जीवन बीमाका कुल बीमालेखधारकमध्ये महिलाको हिस्सा ५७ प्रतिशत छ भने पुरुषको ४३ प्रतिशत छ । बीमा सुरक्षा पाएका व्यक्तिमध्ये पनि महिलाको हिस्सा ५८ प्रतिशत र पुरुषको ४२ प्रतिशत छ । यसले जीवन बीमा बजारमा महिलाको सहभागिता पुरुषको तुलनामा बढी रहेको देखाउँछ ।
तर, जीवन बीमा कम्पनीहरूको उच्च व्यवस्थापनमा महिलाको प्रतिनिधित्व निकै कम छ । प्रतिवेदनअनुसार जीवन बीमा कम्पनीको कार्यकारी व्यवस्थापन तहमा पुरुषको हिस्सा ८७ प्रतिशत र महिलाको १३ प्रतिशत मात्रै छ । यस्तै सञ्चालक समितिमा पनि पुरुषको हिस्सा ७८ प्रतिशत हुँदा महिलाको प्रतिनिधित्व २२ प्रतिशतमा सीमित छ । अर्थात्, जीवन बीमा कम्पनीको कार्यकारी व्यवस्थापनमा पुरुषको संख्या महिलाको तुलनामा झन्डै सात गुणा बढी छ ।
बीमा बजारमा महिलाको सहभागिता र संस्थागत नेतृत्वमा उनीहरूको उपस्थितिबीचको यो अन्तर गैरजीवन बीमा क्षेत्रमा पनि देखिन्छ । प्रतिवेदनअनुसार गैरजीवन बीमा कम्पनीको कार्यकारी व्यवस्थापनमा पुरुषको हिस्सा ७८ प्रतिशत र सञ्चालक समितिमा ८१ प्रतिशत छ । लघुजीवन बीमा कम्पनीमा कार्यकारी व्यवस्थापन तहमा पुरुषको प्रतिनिधित्व ८९ प्रतिशत र सञ्चालक समितिमा ६८ प्रतिशत छ । त्यस्तै, लघुनिर्जीवन बीमा कम्पनीको कार्यकारी व्यवस्थापनमा पुरुषको हिस्सा ८३ प्रतिशत र सञ्चालक समितिमा ६८ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।
कर्मचारी तहमा भने महिलाको उपस्थिति तुलनात्मक रूपमा केही बलियो देखिन्छ । जीवन बीमा कम्पनीका तलब पाउने कर्मचारीमध्ये महिलाको हिस्सा ४० प्रतिशत छ । त्यस्तै, बीमा अभिकर्तामा महिलाको हिस्सा ४४ प्रतिशत छ । तर, कर्मचारी तथा अभिकर्ताका रूपमा रहेको सहभागिता उच्च व्यवस्थापन र सञ्चालक तहमा पुग्दा घटेको देखिन्छ । यसले बीमा क्षेत्रमा महिलाको प्रवेश र सहभागिता भए पनि नेतृत्व तहसम्म पुग्ने अवसर वा प्रतिनिधित्वमा अन्तर रहेको संकेत गर्छ ।
अध्ययनले संस्थागत नीतिमा पनि लैंगिक समानताको अभ्यास कमजोर रहेको देखाएको छ । जीवन बीमा क्षेत्रका १४ कम्पनीमध्ये सबैले समान अवसरमा आधारित रोजगारी नीति रहेको बताएका छन् । तर, कर्मचारीको बढुवा तथा वृत्ति विकासका अवसरलाई लैंगिक आधारमा समीक्षा गर्ने कम्पनी दुईओटा अर्थात् १४.३ प्रतिशत मात्रै छन् । त्यस्तै, लैंगिक विविधतालाई समेट्ने भर्ती रणनीति अपनाएको बताउने कम्पनी नौओटा छन् ।
यसैगरी, अध्ययनमा सहभागी जीवन बीमा कम्पनीमध्ये कुनैले पनि लैंगिक आधारमा तलबको समीक्षा नगरेको उल्लेख छ । चार कम्पनीले भने कार्यकारी व्यवस्थापन तहमा सम्भावित लैंगिक तलब अन्तर रहेको स्वीकार गरेका छन् । यसले महिलाको सहभागिता बढाउन भर्तीमा समान अवसरको नीति मात्रै पर्याप्त नहुने, उनीहरूको वृत्ति विकास, बढुवा र नेतृत्वमा पहुँचलाई पनि संस्थागत रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता देखाउँछ ।
नेपाल बीमा प्राधिकरणले सन् २०२४ जुलाई १६ देखि २०२५ जुलाई १६ सम्मको अवधिलाई आधार मानेर गरेको अध्ययनमा नेपालमा सञ्चालनमा रहेका सबै ३५ बीमा कम्पनीका तथ्यांक समेटिएका छन् । अध्ययनले बीमा क्षेत्रमा महिला ग्राहकको सहभागिता बलियो भए पनि सञ्चालक समिति, कार्यकारी व्यवस्थापन र वरिष्ठ व्यवस्थापन तहमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया