वि.सं. २०८३ मंसिर ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी नियमनको ‘कमाण्ड’ कसले सम्हाल्ला ? अध्यक्षका लागि ६ जनाको प्रतिस्पर्धा

सहकारी नियमनको ‘कमाण्ड’ कसले सम्हाल्ला ? अध्यक्षका लागि ६ जनाको प्रतिस्पर्धा
अर्थटुडे
२०८३ मंसिर ७, आईतवार

काठमाडौं । सात महिनादेखि नेतृत्वविहीन राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ६ जना उम्मेदवार प्रारम्भिक छनोट भएका छन् ।

प्राधिकरणले सूचना प्रकाशित गरी अध्यक्षका लागि आवेदन दिएका उम्मेदवारमध्ये योग्यता पुगेका ६ जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको हो । प्राधिकरणद्धारा प्रकाशित सूचनाअनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण मङ्सिर २३ गते र अन्तर्वार्ता मङ्सिर २४ गते सञ्चालन हुनेछ ।

सूचना अनुसार छनोट भएका उम्मेदवारमा त्रिलोचन घिमिरे, डा. रमेशप्रसाद चौलागाईं, रोशनकुमार अधिकारी, रोशनबहादुर शाक्य, विश्वराज बराल र समता पन्त रहेका छन् ।

नियमन, बैंकिङ र समस्याग्रस्त संस्थाको अनुभव
प्रतिस्पर्धीमध्ये डा. चौलागाईं बैंकिङ तथा सहकारी नियमनको अनुभव भएका उम्मेदवार हुन् । राष्ट्र बैंकको उपनिर्देशकबाट अवकाश उनी यसअघि सहकारी नियमन प्राधिकरणको विज्ञ सदस्य समेत थिए । सरकार परिवर्तनसँगै अघिल्लो नियुक्ति खारेज भएपछि उनी कार्यकाल पूरा नहुँदै प्राधिकरणबाट बाहिरिएका थिए । अहिले उनी अध्यक्षसँगै विज्ञ सदस्यका लागि समेत प्रतिस्पर्धामा छन् ।

अर्का उम्मेदवार अधिकारी समस्याग्रस्त नेपाल शेयर मार्केट एण्ड फाइनान्समा व्यवस्थापक संयोजकका रूपमा काम गरेका व्यक्ति हुन् । यस्तै शाक्यले समस्याग्रस्त सहकारी सम्पत्ति व्यवस्थापन समितिमा विज्ञ सदस्यका रूपमा काम गरेका छन् ।

विश्वराज बराल बैंकिङ, वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका व्यक्ति हुन् । उनले ग्लोबल आइएमई लघुवित्त र राष्ट्रिय बीमा कम्पनीमा स्वतन्त्र सञ्चालकका रूपमा काम गरेका छन् । उनी यसअघि गत जेठमा पनि प्रतिस्पर्धा गरेका थिए ।

यस्तै अर्का उम्मेदवार पन्त नेपाल बैंकबाट अवकाशप्राप्त कर्मचारी हुन् । उनले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

यसैगरी अर्का प्रतिस्पर्धी घिमिरे भने काभ्रेस्थिती विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।

सिफारिसदेखि नियुक्तिसम्म अल्झिएको प्राधिकरण
प्राधिकरणमा अध्यक्ष र विज्ञ सदस्यको गत वैशाख दोस्रो सातादेखि रिक्त भएको हो । अघिल्लो सरकारले नियुक्त गरेका अध्यक्ष डा. खगराज शर्मा र विज्ञ सञ्चालक डा. चौलागाईं सरकार परिवर्तनसँगै नियुक्तिहरु खारेज गर्ने अध्यादेशपछि पदबाट बाहिरिएका थिए ।

त्यसपछि सरकारले वैशाख २६ गते दुवै पदमा नियुक्तिका लागि आवेदन मागेको थियो । लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको सिफारिस समितिले अध्यक्ष र विज्ञ सदस्यका लागि छुट्टाछुट्टै छनोट प्रक्रिया अघि बढायो ।

जसअनुसार अध्यक्षका लागि जेठ २२ र २३ गते तथा विज्ञ सदस्यका लागि असार ६ र ७ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन गरिएको थियो । तोकिएको प्रक्रिया पूरा गरी उम्मेदवार सिफारिस भए पनि नियुक्ति निर्णय हुन नसक्दा प्राधिकरण नेतृत्वविहीन छ । यस अवधिमा मन्त्रालयका सचिव मदन भुजेललाई प्राधिकरणको जिम्मेवारी दिइएको थियो ।

अघिल्लो छनोट प्रक्रियामा अध्यक्षका लागि अशोककुमार पौडेल, डा. गणेशप्रसाद गौतम, रघुराम विष्ट र विश्वराज बरालसहित उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका थिए ।
विज्ञ सदस्यका लागि अच्युतम थापा, उमेश खड्का, कृष्ण अर्याल, नारायण पराजुली, डा. रमेशप्रसाद चौलागाईं, डा. रूपा जोशी र सूर्यप्रसाद रिमाल प्रतिस्पर्धामा छन् ।

सरकारले उक्त नियुक्ति प्रक्रिया रोकेर अध्यक्षका लागि पुनः नयाँ प्रक्रिया सुरु गरेको हो । विज्ञ सदस्यको नियुक्ती प्रक्रिया भने अझै अन्योलमा छ ।

नियमन गर्ने निकाय नै नेतृत्वविहीन
सरकारले प्राधिकरणलाई बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन गर्ने शक्तिशाली निकायका रूपमा विकास गर्ने घोषणा गर्दै आएको छ । तर, सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षणलाई संस्थागत गर्ने जिम्मेवारी पाएको निकायमै लामो समयदेखि नेतृत्व नहुँदा सरकारी प्रतिबद्धतामाथि नै प्रश्न उठ्न थालेको छ ।

विशेषगरी बचत तथा ऋण सहकारीमा देखिएका समस्या समाधान गर्न प्रभावकारी नियमन, जोखिम पहिचान, अनुगमन र सुपरिवेक्षण आवश्यक मानिन्छ । तर प्राधिकरणको नेतृत्व नै रिक्त रहँदा यस्ता काममा अपेक्षित गति आउन सकेको छैन।

सहकारी क्षेत्रको समस्या पछिल्ला वर्षहरूमा थप जटिल बन्दै गएको छ। बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने, संस्थाहरूमा तरलता तथा सुशासनसम्बन्धी समस्या देखिने र सञ्चालक तथा व्यवस्थापनको कमजोरीका कारण बचतकर्ताको रकम जोखिममा पर्ने क्रम बढ्दै गएको छ ।

सहकारी क्षेत्रमा देखिएको संकटको असर बचतकर्तामा मात्र सीमित छैन । सहकारीमा थुप्रिएको ठूलो रकम परिचालन हुन नसक्दा वित्तीय प्रणाली तथा अर्थतन्त्रका विभिन्न क्षेत्रमा समेत यसको प्रभाव देखिन थालेको छ ।

बचत तथा ऋण सहकारीमा सर्वसाधारणको ठूलो रकम परिचालन हुने भएकाले यसको नियमन कमजोर हुँदा वित्तीय स्थायित्वमा समेत जोखिम उत्पन्न हुन सक्ने विज्ञहरूको धारणा छ। यही कारण सहकारी क्षेत्रलाई प्रभावकारी नियमन र सुपरिवेक्षणको दायरामा ल्याउन सरकारमाथि निरन्तर दबाब पर्दै आएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले समेत नेपालको वित्तीय प्रणालीमा रहेका जोखिम न्यूनीकरणका लागि सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षण सुदृढ बनाउन जोड दिँदै आएको छ। सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहकारी क्षेत्रको प्रभावकारी नियमनलाई प्राथमिकतामा राख्न नेपाललाई दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?