वि.सं. २०८३ मंसिर ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतसँग आर्थिक साझेदारी विस्तार गर्न एफएनसीसीआई अध्यक्ष श्रेष्ठका सात प्रस्ताव, जुट र स्टिलको शुल्क हटाउन आग्रह

भारतसँग आर्थिक साझेदारी विस्तार गर्न एफएनसीसीआई अध्यक्ष श्रेष्ठका सात प्रस्ताव, जुट र स्टिलको शुल्क हटाउन आग्रह
अर्थटुडे
२०८३ मंसिर ७, आईतवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सातवटा क्षेत्रमा सहकार्य विस्तार गर्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष श्रेष्ठले व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, पर्यटन र प्रविधिलाई दुई देशबीचको आर्थिक साझेदारीका प्रमुख आधार बनाउनुपर्ने बताएका हुन् ।

उनले नेपाल र भारतबीचको सम्बन्धलाई इतिहास र संस्कृतिमा मात्र सीमित नराखी व्यवसाय र आर्थिक समृद्धिको साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख वैदेशिक लगानीकर्ता भए पनि भारतीय निजी क्षेत्रबाट नेपालमा अपेक्षित लगानी आउन नसकेको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार नेपाल र भारतबीच गत वर्ष करिब ९ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको छ । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ जाने गरेको छ । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये करिब एक तिहाइ हिस्सा भारतको रहेको उनले बताए ।

नेपालले भारत र बंगलादेशमा विद्युत् बिक्री गरेर गत वर्ष २९ अर्ब रुपैयाँ आम्दानी गरेको र यो अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी रहेको पनि उनले उल्लेख गरे ।

तर, नेपालमा भारतीय निजी क्षेत्रको लगानी अपेक्षाअनुसार विस्तार हुन नसकेको भन्दै श्रेष्ठले लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र प्रशासनिक प्रक्रियामा थप सहजीकरण आवश्यक रहेको बताए ।

१०२ उद्योगमा स्वतः विदेशी लगानी स्वीकृत हुने व्यवस्था

नेपालले विदेशी लगानी आकर्षित गर्न नीतिगत तथा कानुनी सुधार अघि बढाएको पनि श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकल विन्दु सेवा केन्द्रमार्फत १०२ वटा उद्योगमा विदेशी लगानी स्वतः स्वीकृत हुने व्यवस्था गरिएको छ । यसैगरी ५९ वटा ऐन र करिब ५०० वटा दफा संशोधनको प्रक्रियामा रहेका छन् ।

उनले नेपाल र भारतबीचको साझेदारीलाई सातवटा आधार र दुईवटा प्रत्याभूतिमा अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन् । दुई प्रत्याभूतिमा सुरक्षित तथा स्मार्ट सीमा व्यवस्थापन र लगानी सुरक्षा रहेका छन् ।

सीमामा वस्तुको डिजिटल ट्र्याकिङ, सिलबन्दी र छिटो भन्सार जाँचपासको व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ । त्यस्तै, नेपाल सरकारले लागू गरेको निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीतिले कम्तीमा पाँच वर्षसम्म नीतिगत स्थिरता कायम गर्न सहयोग पुग्ने उनले बताए ।

भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह

श्रेष्ठले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्दै जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, औषधि उत्पादन, सिमेन्ट र सूचना प्रविधिलाई लगानीका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरेका छन् ।

नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादनको सम्भावना रहे पनि त्यसको करिब १० प्रतिशत मात्रै विकास भएको उल्लेख गर्दै उनले ऊर्जा क्षेत्रमा भारतीय लगानीको ठूलो सम्भावना रहेको बताए ।

दुवै देशका सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् व्यापार गर्ने सहमति गरिसकेको भन्दै उनले विद्युत् उत्पादनसँगै प्रसारण लाइन तथा ऊर्जा पूर्वाधारमा पनि सहकार्य आवश्यक रहेको बताए ।

उनले नेपाल लिभर, नेपाल एसबीआई बैंक, डाबर नेपाल र सूर्य नेपालजस्ता कम्पनीको उदाहरण दिँदै नेपाल भारतीय लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए ।

जुट र स्टिलमा भारतीय शुल्कले नेपाली उद्योग प्रभावित

अध्यक्ष श्रेष्ठले भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न तीनवटा प्रमुख समस्या समाधान गर्नुपर्ने बताएका छन् । उनले नेपाली जुट उत्पादनमा लाग्दै आएको एन्टी–डम्पिङ शुल्क, स्टिलमा लगाइएको सेफगार्ड शुल्क र बीआईएस प्रमाणीकरणमा देखिएका समस्या तत्काल समाधान गर्न भारतसँग आग्रह गरेका छन् ।

उनका अनुसार नेपाली जुट उत्पादनमा सन् २०१७ देखि भारतले एन्टी–डम्पिङ शुल्क लगाउँदै आएको छ । यसै सेप्टेम्बरमा शुल्क पुनरावलोकन गरिएको र प्रतिकारी शुल्कसमेत लगाउने विषय विचाराधीन रहेको उनले बताए ।

नेपाली जुट उद्योगले पूर्वी नेपालका हजारौं किसान तथा मजदुरलाई रोजगारी दिएको उल्लेख गर्दै उनले नेपाली जुट उद्योगलाई भारतीय जुट उद्योगको प्रतिस्पर्धीभन्दा पनि साझेदारका रूपमा लिन आग्रह गरे । नेपाली जुट उद्योगले भारतबाटै कच्चा जुट र मेसिनरी खरिद गर्ने भएकाले यसले भारतीय अर्थतन्त्रलाई समेत योगदान पुर्‍याइरहेको उनको भनाइ छ ।

त्यस्तै, भारतले स्टिलमा लगाएको सेफगार्ड शुल्कका कारण गत आर्थिक वर्षमा भारततर्फ नेपालको स्टिल निर्यात ६० प्रतिशतभन्दा बढीले घटेको उनले बताए । भारतीय बजारमा नेपाली स्टिलको हिस्सा सानो भए पनि नेपाली उद्योगका लागि उक्त बजार निकै महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

बीआईएस प्रमाणीकरण प्रक्रियामा केही सुधार भए पनि नवीकरणमा हुने ढिलाइ र कच्चा पदार्थसम्बन्धी प्रमाणीकरण नियमका कारण नेपाली सामान सीमामा रोकिने समस्या कायमै रहेको श्रेष्ठको भनाइ छ ।

एफएनसीसीआई र सीआईआईबीच संयुक्त कार्यदल गठनको प्रस्ताव

नेपाली उद्योगले भोगिरहेका व्यापारिक अवरोध समाधान गर्न श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच संयुक्त कार्यदल गठन गर्न प्रस्ताव गरेका छन् ।

उक्त कार्यदलले व्यापार उपचार, गुणस्तर मापदण्ड तथा प्रमाणीकरणसम्बन्धी समस्याको अध्ययन गरी दुवै देशका सरकारलाई साझा सिफारिस पेस गर्नुपर्ने उनको सुझाव छ ।

नेपालले भारतलाई निर्यात गर्नेभन्दा कैयौं गुणा बढी आयात गर्ने गरेको उल्लेख गर्दै उनले बलियो नेपाली उद्योगको विकासले भारतीय बजारसमेत विस्तार गर्ने बताए ।

भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य राखेको र नेपालले आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउँदै १०० अर्ब डलरको अर्थतन्त्र बन्ने लक्ष्य लिएको उनले बताए ।

नेपाल र भारतबीचको भौगोलिक तथा ऐतिहासिक सम्बन्धलाई अब आर्थिक समृद्धिको साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले संवादलाई सम्झौता र सम्भावनालाई ठोस परियोजनामा बदल्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आयोजनामा आइतबार नयाँ दिल्लीमा नेपाल–भारत व्यावसायिक शिखर सम्मेलन आयोजना गरिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणका क्रममा आयोजित कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको सहभागिता रहेको थियो

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?