काठमाडौं । कुमारी बैंकको खराब कर्जा बढ्दै गए पनि क्रेडिट रेटिङमा भने सुधार भएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको इश्युअर रेटिङ ‘बीबी प्लस’ बाट बढाएर ‘बीबीबी माइनस’ कायम गरेको हो । त्यस्तै, बैंकको सबअर्डिनेटेड डिबेञ्चरको रेटिङ पनि ‘एलबीबी प्लस’ बाट बढाएर ‘एलबीबीबी माइनस’ कायम गरेको हो ।
इक्राको विश्लेषण अनुसार बैंकको रेटिङ सुधार हुनुमा खराब कर्जा घटेको नभई पुँजी पर्याप्तता, नाफा र तरलता सूचकमा आएको सुधार मुख्य कारण मानेको छ । पछिल्लो दुई वर्षमा बैंकको पुँजीगत आधार बलियो हुनु र आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य वृद्धि हुनुले रेटिङ सुधारमा सहयोग गरेको इक्रा नेपालले जनाएको छ ।
तर, बैंकको खराब कर्जाको अवस्था भने थप बिग्रिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ६.९५ प्रतिशत रहेको बैंकको ग्रस नन पर्फर्मिङ एसेट (ग्रस एनपीए) आर्थिक वर्ष २०८२/८३ मा बढेर ८.८३ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकले सुरुवाती खराब कर्जाको करिब ५ प्रतिशत राइट अफ गरे पनि खराब कर्जा अनुपात बढेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, बैंकको कर्जाको भुक्तानी म्याद शून्य दिनदेखि नै नाघेका कर्जाको अनुपात १८.९३ प्रतिशतबाट बढेर २२.५५ प्रतिशत पुगेको छ । यसले बैंकको कर्जा पोर्टफोलियोमा थप दबाब रहेको र आगामी दिनमा खराब कर्जा अझ बढ्न सक्ने जोखिम देखाएको छ ।
‘प्रोभिजन रिभर्सल’ले नाफामा उछाल
कुमारी बैंकको रेटिङ सुधारमा सबैभन्दा महत्वपूर्ण पक्ष नाफामा आएको उल्लेख्य वृद्धि हो । बैंकले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएकोमा आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । एक वर्षमै बैंकको खुद नाफा चार गुणाभन्दा बढी भएको हो ।
नाफा वृद्धि नियमित बैंकिङ व्यवसायबाट भएको आम्दानीको विस्तारले मात्र सम्भव भएको होइन । इक्रा नेपालका अनुसार बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि विगतमा नियामकीय आवश्यकताभन्दा बढी छुट्याएको केही रकम फिर्ता (प्रोभिजन रिभर्सल) गरेपछि नाफामा उल्लेख्य सुधार आएको हो ।
ठूला कर्जामा गैरखराब कर्जाका रूपमा राखिएको अतिरिक्त प्रोभिजन फुकुवा हुँदा बैंकको नाफामा सकारात्मक प्रभाव परेको इक्राको प्रतिवेदनमा उल्लेख छ । यद्यपि, बैंकको खराब कर्जाका लागि छुट्याइएको कुल प्रोभिजन रकम भने बढेको छ ।
यसले बैंकको नाफा बढे पनि त्यसको दिगोपनबारे प्रश्न उठाएको छ । इक्राले आगामी दिनमा बैंकले प्रोभिजन रिभर्सलमा मात्र निर्भर नभई नियमित बैंकिङ कारोबारबाटै आम्दानी कायम राख्न सक्ने क्षमतालाई महत्वपूर्ण मानेको छ ।
बैंकको सम्पत्तिमा प्रतिफल (आरओए) ०.४३ प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ भने खुद सम्पत्तिमा प्रतिफल ५.०६ प्रतिशतबाट बढेर १७.९८ प्रतिशत पुगेको छ । तर, बैंकको खुद ब्याजदर अन्तर (एनआईएम) भने २.७३ प्रतिशतबाट घटेर २.५७ प्रतिशतमा झरेको छ । यसले बैंकको मूल ब्याज आम्दानीमा अझै दबाब रहेको देखाउँछ ।
पुँजी पर्याप्तता र तरलतामा सुधार
खराब कर्जा बढे पनि बैंकको पुँजी पर्याप्तता अनुपातमा आएको सुधार रेटिङ वृद्धिको अर्को महत्वपूर्ण आधार बनेको छ । बैंकको कुल पुँजी पर्याप्तता अनुपात आर्थिक वर्ष २०८१/८२ मा १२.३१ प्रतिशत रहेकोमा २०८२/८३ मा बढेर १३.५० प्रतिशत पुगेको छ ।
त्यस्तै, टियर–१ पुँजी अनुपात ८.५१ प्रतिशतबाट बढेर ९.८७ प्रतिशत पुगेको छ । यो नियामकीय न्यूनतम आवश्यकता ८.५ प्रतिशतभन्दा माथि हो । आर्थिक वर्ष २०८०÷८१ मा ७.७० प्रतिशत रहेको टियर–१ पुँजी अनुपात दुई वर्षमा उल्लेख्य सुधार भएको हो ।
बैंकको तरलता अवस्था पनि सहज देखिएको छ । कुल दायित्वको तुलनामा तरल सम्पत्तिको अनुपात ३४.५८ प्रतिशतबाट बढेर ३८.१८ प्रतिशत पुगेको छ । त्यस्तै, कुल निक्षेपको तुलनामा कर्जाको अनुपात ७२.३० प्रतिशतबाट घटेर ६९.३४ प्रतिशतमा झरेको छ । यसले बैंकसँग निक्षेपको तुलनामा कर्जा विस्तारको थप क्षमता रहेको देखिएको छ । बैंकमा निक्षेपको लागत पनि घटेको छ । बैंकको निक्षेप लागत ५.०९ प्रतिशतबाट घटेर ३.५३ प्रतिशतमा झरेको छ ।
ठूला ऋणीमा कर्जा केन्द्रित हुनु अर्को जोखिम
कुमारी बैंकको कर्जा पोर्टफोलियोमा ठूला ऋणीको हिस्सा पनि उल्लेख्य रहेको छ । बैंकको कुल कर्जामध्ये शीर्ष २० ऋणी समूहको हिस्सा करिब २५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा २२ प्रतिशत थियो ।
सीमित ठूला ऋणीमा कर्जा केन्द्रित हुँदा कुनै एक वा केही ठूला ऋणी समस्यामा परेमा बैंकको सम्पत्तिको गुणस्तर र पुँजीमा थप दबाब पर्न सक्ने जोखिम रहेको इक्राले औंल्याएको छ । अर्कोतर्फ, बैंकको खुद खराब कर्जा र खुद सम्पत्तिको अनुपात ५.८७ प्रतिशतबाट बढेर १३.४२ प्रतिशत पुगेको छ । यसले सम्भावित कर्जा नोक्सानीले बैंकको खुद सम्पत्तिमा पार्न सक्ने प्रभाव बढेको देखाउँछ ।
सन् २००१ देखि सञ्चालनमा रहेको कुमारी बैंकले सन् २०२३ मा नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग मर्जर गरेको थियो । मर्जरपछि बैंकको शाखा सञ्जाल र बजार उपस्थिति विस्तार भएको छ । बैंकको कुल सम्पत्ति ४ खर्ब ९१ अर्ब ६८ करोड रुपैयाँ र कुल कर्जा ३ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
इक्रा नेपालले आगामी दिनमा बैंकको खराब कर्जा नियन्त्रण, पुराना खराब कर्जाको असुली, नाफाको दिगोपन र पुँजी पर्याप्तताको अवस्थालाई रेटिङका लागि महत्वपूर्ण आधार मानेको छ । सम्पत्तिको गुणस्तरमा उल्लेख्य सुधार गर्दै हालको नाफा र पुँजीको अवस्था कायम राख्न सके बैंकको रेटिङ थप सुधार हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । तर, खराब कर्जा थप बढेमा वा नियामकीय न्यूनतम पुँजी तथा तरलता अनुपात कायम गर्न नसकेमा रेटिङमा नकारात्मक दबाब पर्न सक्ने इक्राको चेतावनी छ ।
बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड ४५ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७० प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) ६४.४० प्रतिशतले घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब २६ करोड ४१ लाख ७ हजार रुपैयाँ थियो । इम्पेयरमेन्ट चार्जमा करिब ८१ करोड ४१ लाख रुपैयाँले कमी आएपछि बैंकको सञ्चालन नाफा ३२.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया