काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भारतीय सरकारले घोषणा गरेको सहयोग तथा विभिन्न विकास साझेदारीका पहलहरूको स्वागत गरेको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको उच्चस्तरीय वार्ताका क्रममा भारतले नेपाललाई विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको हो।
संघका अनुसार भारतले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा दिगो विकाससहित विभिन्न क्षेत्रमा सहयोग गर्न नेपाली रुपैयाँ २४० अर्ब (२ खर्ब ४० अर्ब) बराबरको सहयोग प्याकेज उपलब्ध गराउने भएको छ। भारतले ५६ अर्ब रुपैयाँ विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि अनुदान र १८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधा दिएकाे हाे ।
संघले भारतको सहयोगले दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत बनाउनुका साथै व्यापार, लगानी, पर्यटन, ऊर्जा र प्रविधिका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरेको छ।
तेस्रो मुलुकसँगको व्यापार सहज हुने अपेक्षा
भारतले नेपाललाई गुजरातको कान्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच दिने सहमति जनाएको छ। यसबाट नेपालले तेस्रो मुलुकसँग गर्ने अन्तर्राष्ट्रिय व्यापार थप सहज र द्रुत हुने अपेक्षा गरिएको छ। त्यस्तै, अयोध्या–जनकपुर रेल सेवा, सरयू–कमला एक्सप्रेस रेल तथा दार्चुला–धार्चुला पुल निर्माण र सञ्चालनका विषयमा पनि सहमति भएको संघले जनाएको छ।
यी सम्पर्क सञ्जालले नेपाल र भारतबीचको व्यापारिक गतिविधि विस्तार गर्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने संघको विश्वास छ।
जनकपुरलाई विवाह पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने, लुम्बिनी–बोधगयालाई बौद्ध धार्मिक पर्यटन परिपथका रूपमा विस्तार गर्ने तथा शिव–शक्ति धार्मिक स्थललाई आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने सम्भावना पनि संघले औंल्याएको छ।
ऊर्जा क्षेत्रमा लगानीको नयाँ सम्भावना
ऊर्जा सहकार्यलाई पनि भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। भारतको सहयोगमा अघि बढिरहेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यासलाई संघले स्वागत गरेको छ।
संघका अनुसार यसले नेपालको हरित तथा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्नुका साथै दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्याउनेछ। नेपालमा जलविद्युत् क्षेत्रमा भारतीय लगानी र सहकार्य विस्तार हुने अपेक्षा पनि संघले गरेको छ।
नेपालमा आइआइटी क्याम्पस स्थापना हुने
प्रविधि तथा शिक्षाको क्षेत्रमा भारतले नेपालमा भारतीय प्रौद्योगिकी संस्थान प्रणालीअन्तर्गत अफसोर क्याम्पस स्थापना गर्ने सहमति गरेको छ। यसले प्राविधिक शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादन तथा स्टार्टअप र इन्क्युबेसन कार्यक्रमलाई सहयोग पुग्ने संघको विश्वास छ। यसबाट नेपाललाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्नसमेत मद्दत पुग्ने संघले जनाएको छ।
त्यस्तै, भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल विस्तार गर्ने सहमतिलाई पनि संघले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। यसअन्तर्गत नेपाली स्टार्टअपलाई भारतमा तालिम तथा मेन्टरसिप प्रदान गर्ने र काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने पहल समावेश छन्।
संघका अनुसार उक्त पहल काठमाडौंस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा सन् २०२५ मै सुरु गरिएको थियो।
खेलकुद पूर्वाधार विकासमा पनि सहकार्य
नेपालमा क्रिकेट लोकप्रिय रहेको र यस क्षेत्रमा विकासको सम्भावना उच्च रहेको उल्लेख गर्दै भारतले खेलकुद पूर्वाधार विकास तथा खेलाडीको प्रशिक्षणमा सहयोग गर्ने सहमति जनाएको छ।
संघले यसलाई नेपाली युवाको क्षमता विकास तथा खेलकुद क्षेत्रको व्यावसायिक विस्तारका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। संघले भारतीय सरकार, काठमाडौंस्थित भारतीय राजदूतावास, नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा दुवै देशका सम्बन्धित अधिकारीहरूप्रति आभार व्यक्त गरेको छ।
संघले भारतबाट घोषित सहयोग तथा विभिन्न साझेदारीका पहलले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने र दुई देशबीच व्यापार, लगानी तथा विकास सहकार्यका नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया