काठमाडौ । सरकारले भिमभेदीको घटनामा ज्यान गुमाएकाको परिवारालाई क्षतिपुर्ति दिनेबारे प्रकृया थालेको छ । मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै घटनामा मृत्यु भएकाहरुको आफन्तले शव उठाउन मानेका छैनन् ।
मृतकका परिवारले आन्दोलन गरिरहेका बेला शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रेस विज्ञप्ति जारी गरी सरकारले मृतकका परिवारलाई क्षतिपुर्ति र घाइतेहरुको उपचार तथा बीमा रकम उपलव्ध गराउनेबारे आवश्यक प्रकृया अघि बढेको जनाएको हो ।
कार्यालयका सहसचिव हेमराज अर्यालले हस्ताक्षर गरिएको विज्ञप्तिमा घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने रकम उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको भनिएको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार प्रक्रिया अघि बढाइएको बताएकाे छ ।
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हिजो (कात्तिक २६) भएको दुर्घटनामा परेर १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुन् ।
सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री कार्यालयका सहसचिव अर्यालले बताए ।
विज्ञप्तिमा भनिएको छ, ‘उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ ।’
घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सरकारले दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न पाँच सदस्यीय छानबिन समिति पनि बनाइएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया