काठमाडौं । नेपाल र भारतबीच प्रशासनिक क्षमता विकासदेखि प्रविधि, स्वास्थ्य, सुरक्षा र सहरी पूर्वाधारसम्म सहकार्य विस्तार गर्ने गरी आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका यी समझदारीले दुई देशबीचको विकास साझेदारीलाई थप संस्थागत बनाउने लक्ष्य राखेको छ ।
फरेन्सिक विज्ञान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद, स्वास्थ्य, औषधि, पशुपन्छी तथा मत्स्य विकास, दिगो सहरी विकास र भूउपग्रह सञ्चार क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो । यी सहकार्यले प्राविधिक ज्ञान, तालिम, अनुसन्धान र संस्थागत क्षमता विकासमा जोड दिएको छ ।
फरेन्सिक विज्ञान तथा अपराध अनुसन्धानमा शैक्षिक र अनुसन्धान सहकार्य, प्रहरी संस्थाबीच तालिम तथा क्षमता विकास, निजामती कर्मचारीको दक्षता अभिवृद्धिका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्ने समझदारी भएका छन् । त्यस्तै, आयुर्वेद तथा परम्परागत चिकित्सा, स्वास्थ्य सेवा र औषधि क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने सहकार्य अघि बढाइनेछ ।
भूउपग्रह सञ्चारतर्फ नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) बीच दक्षिण एसिया स्याटेलाइट उपयोगका लागि सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ । यसले सञ्चार प्रविधिको उपयोग तथा प्राविधिक सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा समझदारीपत्रमा हस्ताक्षरका अतिरिक्त सीमा पुल, पेट्रोलियम पाइपलाइन, एकीकृत जाँच चौकी, भण्डारण केन्द्र, तल्लो अरुण आयोजना र जनकपुर–अयोध्या रेल सेवासहित विभिन्न परियोजनाको उद्घाटन तथा शिलान्याससमेत गरिएको छ ।
प्रतिक्रिया