काठमाडौं । नेपालमा नीजि क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठूलो जलविद्युत आयोजना साहस ऊर्जाको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा २१ प्रतिशतले बढेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानीमा सामान्य वृद्धि भए पनि वित्तीय खर्च घट्दा कम्पनीको नाफा उल्लेख्य रूपमा बढेको हो ।
कम्पनीले पहिलो त्रैमासमा विद्युत् बिक्रीबाट ९५ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ४६ लाख रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी ३.१५ प्रतिशतले मात्रै बढे पनि करअघिको नाफा भने ४९ करोड ४९ लाख रुपैयाँबाट बढेर ५९ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यो २१.०६ प्रतिशतको वृद्धि हो ।
कम्पनीको वित्तीय खर्च अघिल्लो वर्षको पहिलो त्रैमासमा १६ करोड ७९ लाख रुपैयाँ रहेकोमा चालु वर्षको सोही अवधिमा ११ करोड ६५ लाख रुपैयाँमा झरेको छ । यसअनुसार वित्तीय खर्च ३०.५८ प्रतिशतले घटेको छ ।
जलविद्युत् आयोजना निर्माणका लागि लिएको ऋणको ब्याज खर्च घट्दा कम्पनीको नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव परेको हो । कम्पनीको मध्यम तथा दीर्घकालीन ऋण ८ अर्ब ९२ करोड ३१ लाख रुपैयाँबाट घटेर ८ अर्ब ५९ करोड २२ लाख रुपैयाँमा आएको छ । त्यस्तै, ब्रिज ग्याप ऋण १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँबाट घटेर १ अर्ब १९ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको सार्वजनिक गरेको वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ४० पैसा छ । प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १३.३६ गुणा रहेको छ ।
कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य ७०० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
कम्पनीले सोलुखोला (दूधकोशी) ८६ मेगावाट जलविद्युत् आयोजनाबाट नदी प्रवाहमा आधारित विद्युत् उत्पादन भइरहेको गरिरहेको छ ।
यस्तै साहसको सहायक कम्पनी टाइम्स इनर्जीमार्फत ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना समेत निर्माणको काम अघि बढेको छ ।
प्रतिक्रिया