वि.सं. २०८३ मंसिर १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाह्य क्षेत्रको सुधारले गभर्नर डा. पौडेललाई ‘बी’ ग्रेड, निजीक्षेत्रमा कर्जा विस्तार कमजोर

बाह्य क्षेत्रको सुधारले गभर्नर डा. पौडेललाई ‘बी’ ग्रेड, निजीक्षेत्रमा कर्जा विस्तार कमजोर
अर्थटुडे
२०८३ मंसिर १, सोमबार

काठमाडौं । अन्तरराष्ट्रिय वित्तीय पत्रिका ग्लोबल फाइनान्सले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई ‘बी’ ग्रेड दिएको छ । नेपालको बाह्य क्षेत्रको अवस्थामा आएको सुधारलाई सकारात्मक रूपमा लिएको पत्रिकाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि निजीक्षेत्रतर्फ कर्जा विस्तार कमजोर रहेको विषयलाई भने प्रमुख चुनौतीका रूपमा औंल्याएको छ ।

ग्लोबल फाइनान्सले सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट काड्र्स’ सार्वजनिक गर्दै विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गरेको हो । सन् २०२५ जुलाई १ देखि २०२६ जुन ३० सम्मको अवधिलाई आधार बनाएर गरिएको मूल्यांकनमा गभर्नर पौडेलले ‘बी’ ग्रेड पाएका हुन् ।

गभर्नर पौडेलले सन् २०२५ मेमा राष्ट्र बैंकको नेतृत्व सम्हालेका थिए । कार्यकाल सुरु भएको छोटो समय भएकाले सन् २०२५ मा पत्रिकाले उनको ग्रेडिङ गरेको थिएन ।
सन् २०२६ मा भने अघिल्ला गभर्नर महाप्रसाद अधिकारीको तुलनामा डा. पौडेलको ग्रेडिङमा सुधार देखिएको छ । उनको कार्यकालको प्रारम्भिक अवधिमा नेपालको बाह्य आर्थिक स्थायित्वमा उल्लेख्य सुधार आएको प्रतिवेदनमा उल्लेख छ ।

विशेषगरी वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आप्रवाहमा भएको वृद्धिले विदेशी मुद्रा सञ्चिति बढेर २४ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको र यसले करिब १९ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, मुद्रास्फीति अधिकांश समय न्यून रहनु र त्यसले मौद्रिक नीतिमा लचिलोपन अपनाउन सहज बनाएको विषयलाई पनि सकारात्मक रूपमा लिइएको छ ।
प्रतिवेदनअनुसार राष्ट्र बैंकले नीतिगत दर ४ दशमलव २५ प्रतिशत र बैंक दर ५ दशमलव ७५ प्रतिशतमा झारेको थियो । यसले आर्थिक गतिविधिलाई सहयोग पु¥याएको र आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

बाह्य क्षेत्रका सूचकमा सुधार देखिए पनि आन्तरिक अर्थतन्त्रमा कर्जाको माग र विस्तार अपेक्षाअनुसार हुन नसकेको विषयलाई प्रतिवेदनले गभर्नर पौडेलका लागि मुख्य चुनौतीका रूपमा औंल्याएको छ ।

बैंक तथा वित्तीय संस्थामा १० खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता उपलब्ध हुँदाहुँदै पनि निजीक्षेत्रतर्फ कर्जा विस्तार ५ देखि ७ प्रतिशतमा सीमित रहेको ग्लोबल फाइनान्सको विश्लेषण छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि निजीक्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत राखेको भए पनि त्यसअनुसार कर्जा प्रवाह बढ्न सकेको छैन ।

राष्ट्र बैंकको वार्षिक तथ्यांकअनुसार पनि आर्थिक वर्ष २०२५/२६ मा निजीक्षेत्रतर्फको कर्जा ६ दशमलव ५ प्रतिशतले मात्र बढेको थियो । यसले बैंकिङ प्रणालीमा तरलता सहज भए पनि त्यसलाई उत्पादन, लगानी र आर्थिक गतिविधिमा रूपान्तरण गर्न नसकिएको अवस्थालाई देखाउँछ ।

ब्याजदर घटेको र बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा पनि निजीक्षेत्रले नयाँ लगानी तथा व्यवसाय विस्तारका लागि कर्जा लिन उत्साह नदेखाउनु अर्थतन्त्रको माग पक्षमा रहेको कमजोरीसँग जोडिएको छ । यस्तो अवस्थामा मौद्रिक नीतिमार्फत तरलता व्यवस्थापन र ब्याजदर घटाउने प्रयासले मात्रै कर्जा विस्तार बढाउन नसक्ने चुनौती देखिएको छ ।

ग्लोबल फाइनान्सले गभर्नर पौडेलका आगामी प्राथमिकताका रूपमा वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को खैरो सूचीबाट बाहिर निकाल्ने विषयलाई पनि उल्लेख गरेको छ । वित्तीय क्षेत्रको प्रभावकारी निगरानी र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्डको कार्यान्वयनले नेपालको अन्तरराष्ट्रिय वित्तीय छवि सुधार गर्न तथा विदेशी लगानी आकर्षित गर्न सहयोग पुग्ने प्रतिवेदनको विश्लेषण छ ।

ग्लोबल फाइनान्सले सन् १९९४ देखि प्रत्येक वर्ष विश्वका प्रमुख केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । यसमा ‘ए प्लस’ सबैभन्दा उत्कृष्ट र ‘एफ’ सबैभन्दा कमजोर ग्रेड हो । मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय प्रणालीको सुपरिवेक्षण, आर्थिक पूर्वानुमान तथा नीतिगत मार्गदर्शन, पारदर्शिता, केन्द्रीय बैंकको राजनीतिक स्वतन्त्रता र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा गरेको योगदानलाई मूल्यांकनको आधार बनाइएको छ ।

यस वर्ष डेनमार्क र पेरुका केन्द्रीय बैंकका गभर्नरले सबैभन्दा उत्कृष्ट ‘ए प्लस’ ग्रेड पाएका छन् । भारतसहित आठ देशका गभर्नरले ‘ए’ ग्रेड प्राप्त गरेका छन् । नेपालसँगै आर्मेनिया, बहराइन, कतार, स्विडेन, टर्की र बेलायतका गभर्नरले ‘बी’ ग्रेड पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?