काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । निक्षेप संकलन र कर्जा प्रवाहबीचको अन्तर साँघुरिँदै गएको तथा बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेपछि बैंकहरूको निक्षेप र कर्जाको ब्याजदर दुवै घटेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८३ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३ दशमलव ०७ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको असोजमा यस्तो ब्याजदर ३ दशमलव ८५ प्रतिशत थियो । यसरी एक वर्षमा निक्षेपको औसत ब्याजदर ० दशमलव ७८ प्रतिशत विन्दुले घटेको छ ।
त्यस्तै, वाणिज्य बैंकहरूको कर्जाको औसत ब्याजदर ६ दशमलव ३१ प्रतिशतमा झरेको छ । गत वर्षको असोजमा यस्तो ब्याजदर ७ दशमलव ५० प्रतिशत थियो । यस अवधिमा कर्जाको ब्याजदर १ दशमलव १९ प्रतिशत विन्दुले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यसले बैंकबाट कर्जा लिने ऋणीलाई ब्याज खर्चमा राहत पुगेको देखाए पनि निक्षेपकर्ताले पाउने प्रतिफल भने थप खुम्चिएको छ ।
विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर पनि घटेको छ । राष्ट्र बैंकका अनुसार विकास बैंकहरूको निक्षेपको औसत ब्याजदर गत वर्षको असोजमा ४ दशमलव ४५ प्रतिशत रहेकोमा अहिले ३ दशमलव ४४ प्रतिशतमा झरेको छ । त्यस्तै, कर्जाको ब्याजदर ८ दशमलव ७७ प्रतिशतबाट ७ दशमलव ५९ प्रतिशतमा आएको छ ।
वित्त कम्पनीहरूको निक्षेपको औसत ब्याजदर ५ दशमलव ६२ प्रतिशतबाट ३ दशमलव ९७ प्रतिशतमा र कर्जाको ब्याजदर १० दशमलव १८ प्रतिशतबाट ८ दशमलव ३७ प्रतिशतमा झरेको छ ।
ब्याजदर घट्नुको मुख्य कारण बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु हो । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ दशमलव ८ प्रतिशत अर्थात् २ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँले बढेको छ । यस अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा भने ३ दशमलव १ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव ७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८ दशमलव ३ प्रतिशत छ । निक्षेपको तुलनामा कर्जा विस्तार कमजोर हुँदा बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको छ ।
बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज रहेको तथ्य अन्तरबैंक ब्याजदरले पनि देखाउँछ । बैंक तथा वित्तीय संस्थाबीचको औसत अन्तरबैंक दर गत वर्षको असोजमा २ दशमलव ५८ प्रतिशत रहेकोमा अहिले २ दशमलव ७५ प्रतिशत छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १ दशमलव ९१ प्रतिशतबाट घटेर १ दशमलव ०१ प्रतिशतमा झरेको छ ।
ब्याजदर न्यून विन्दुमा झरेपछि बैंक, वित्तीय संस्थाहरुको कर्जा विस्तार भने सुस्त गतिमा छ । जसको कारण बजारमा अधिक तरलता कायम भई नेपाल राष्ट्र बैंकले नियमित रुपमा बजारबाट पैसा उठाउँदै आएको छ ।
प्रतिक्रिया