काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेकोले पुराना कानुनहरु खारेज र समय सापेक्ष नयाँ कानुनहरुको निर्माण गर्नुपर्ने बताएका छन् ।
उनले नयाँ कानून थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलो गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको पनि स्पष्ट पारे । मंगलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आर्थिक गतिविधिहरुलाई चलायमान बनाउनका लागि पुराना कानून खारेज जरुरी रहेको दावी गरेका हुन् ।
अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफल भएको छ ।
‘ नियमन आवश्यक छ, तर अत्यधिक र परस्पर विरोधी कानुनले आर्थिक गतिविधिलाई बाधा पुर्याउन सक्छ । त्यसैले समयसापेक्ष नरहेका पुराना ऐन खारेज गरी आधुनिक कानुनमा आवश्यक व्यवस्था समावेश गर्नु उपयुक्त हुन्छ ।’ डा. वाग्लेले भने ।
अर्थमन्त्री वाग्लेले विभिन्न अध्ययन र प्रतिवेदनले औंल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नु भन्दा यसअघि नै प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको समिति सामु स्पष्ट पारे । नियमन भन्दा पनि अत्यधिक कानुनको बोझले अर्थतन्त्र चलायमान हुनुको सट्टा थप खुम्चेर बस्ने बताए ।
‘ऐनहरु धेरै हुदा एउटाले आर्थिक गतिविधि सहज बनाएपनि अर्कोले खुम्च्याउन वा नियन्त्रण गर्न खोज्ने अवस्था सिर्जना भइरहेको छ ।’ डा.वाग्लेले भने,‘पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भएपनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्छ ।’
उनका अनुसार पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्छ ।
समितिले अर्थमन्त्रालयसँग सम्बन्धीत प्रादेशिक विकास योजना कार्यान्वयन ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ लगायतका ऐन खारेज गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०६२ मा आवश्यक संशोधन गर्ने प्रस्तावमाथि छलफल गरिरहेको छ ।
प्रतिक्रिया