काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा संसद्को सार्वजनिक लेखा समितिले चासो देखाउँदै सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । समितिले ठेक्का रद्द गर्नुको आधार, प्रक्रिया र त्यसबाट आयोजनामा परेको प्रभावबारे अध्ययन गर्न कागजात माग गरेको हो ।
समितिले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएको हो ।
समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै प्राप्त कागजातको अध्ययनपछि थप छलफल अघि बढाइने बताए । राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र सीमित नभई सिंगो देशलाई पर्ने उनको भनाइ थियो ।
खड्काले ठेक्का तथा टेन्डर रद्द हुँदा हुने प्रत्यक्ष आर्थिक नोक्सानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्ने बताए । आयोजनामा भएको ढिलाइ र त्यसले पार्ने समग्र आर्थिक तथा विकासात्मक प्रभावलाई समेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो । सार्वजनिक लेखा समितिमा यस विषयमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने उनले बताए ।
छलफलका क्रममा सांसद गणेश धिमालले आयोजना कार्यान्वयनमा कहिले ठेकेदार त कहिले राज्य पक्षको कमजोरी देखिँदा अन्योल सिर्जना भएको बताए । अर्का सांसद मनिष झाले टनेल ब्रेक थ्रु भइसकेको अवस्थामा आयोजनाको मापदण्ड परिवर्तन गरिएको विषयमा छानबिन गर्नुपर्ने माग गरे ।
आयोजनाको बाँध तथा विद्युत् गृह निर्माणका लागि आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला गत कात्तिक १३ गते ठेक्का रद्द गरिएको थियो । प्राविधिक मूल्यांकनबाट छनोट भएका तीन चिनियाँ कम्पनीबीच आर्थिक प्रतिस्पर्धा हुनुअघि नै ठेक्का प्रक्रिया रोकिएपछि आयोजनाको निर्माण प्रक्रिया अन्योलमा परेको छ ।
ठेक्का रद्द भएपछि आयोजनाको बाँकी काम कहिले र कसरी अघि बढ्छ भन्ने प्रश्नसमेत उठेको छ । विशेषगरी लामो समयदेखि कार्यान्वयनमा रहेको राष्ट्रिय गौरवको आयोजना थप ढिलाइ हुँदा लागत, समय र अपेक्षित प्रतिफलमा पर्ने प्रभावबारे चासो बढेको छ ।
यसैगरी समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धी आयोजनाका आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
प्रतिक्रिया