वि.सं. २०८३ कार्तिक २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि यान्त्रिकीकरण प्रवर्द्धन गर्न २० देशका प्रविधि भित्र्याइँदै, मंसिर ४ देखि अन्तर्राष्ट्रिय प्रदर्शनी

कृषि यान्त्रिकीकरण प्रवर्द्धन गर्न २० देशका प्रविधि भित्र्याइँदै, मंसिर ४ देखि अन्तर्राष्ट्रिय प्रदर्शनी
अर्थटुडे
२०८३ कार्तिक २८, शुक्रबार

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई परम्परागत खेती प्रणालीबाट आधुनिक, यान्त्रिक र व्यावसायिक बनाउने उद्देश्यसहित आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ । आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीमा २० देशका कृषि प्रविधि तथा उपकरण प्रदर्शन गरिने भएको हो ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुने तीनदिने प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शक र १५० भन्दा बढी स्टल रहनेछन् । ती स्टलमार्फत दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, मेसिन तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ । प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क हुनेछ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नेम) र कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्रको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) सहआयोजक रहेका छन् ।

प्रदर्शनीमा आधुनिक खेती प्रणाली, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, शीतभण्डार, बाली भित्र्याएपछिको व्यवस्थापन (पोस्ट हार्भेस्ट), कृषि उपज प्रशोधन तथा बजारीकरणसम्बन्धी उपकरण र प्रविधि राखिनेछन् । त्यस्तै, बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवा प्रदायक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको समेत सहभागिता रहनेछ ।

विशेषगरी कृषि उत्पादनमा लागत घटाउने, श्रम अभावको समस्या समाधान गर्ने र उत्पादकत्व बढाउने प्रविधिबारे किसानलाई जानकारी दिने प्रदर्शनीको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

स्वदेशी कृषि उपकरण उत्पादकलाई प्राथमिकता

प्रदर्शनीमा स्वदेशमै कृषि औजार, उपकरण तथा प्रविधि उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल निःशुल्क उपलब्ध गराइएको छ । ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुट दिइनेछ । नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

नेपालमा कृषि यन्त्र तथा उपकरण उत्पादन गर्ने उद्योगको विकास, आयात प्रतिस्थापन र स्वदेशी प्रविधिको प्रवर्द्धनमा समेत प्रदर्शनीले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रविधिसँगै नीतिगत बहस पनि

प्रदर्शनीमा कृषि यान्त्रीकरणसम्बन्धी स्वदेशी तथा विदेशी विज्ञबाट प्रस्तुति दिने कार्यक्रमसमेत राखिएको छ । कृषि यान्त्रीकरणका चुनौती, सम्भावना र नीतिगत सुधारका विषयमा प्यानल छलफल तथा नीतिगत संवाद सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीले कृषि यन्त्रका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, कृषि विज्ञ, किसान, उद्यमी, अनुसन्धानकर्ता र नीतिनिर्माताबीच प्रत्यक्ष सम्पर्क तथा सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । यसबाट कृषि क्षेत्रमा नयाँ लगानीका अवसर सिर्जना हुनुका साथै आधुनिक प्रविधिको आन्तरिक बजार विस्तारमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका अनुसार कृषि यान्त्रीकरणको प्रवर्द्धनका लागि यसअघि विभिन्न समयमा राष्ट्रिय, प्रादेशिक तथा अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी आयोजना हुँदै आएका छन् । यसअघि २०७० सालमा चितवनको भरतपुरबाट सुरु भएको कृषि यान्त्रीकरण प्रदर्शनीको निरन्तरताका रूपमा यसपटक आठौँ संस्करण आयोजना गर्न लागिएको हो ।

कृषि क्षेत्रलाई उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन यान्त्रीकरण महत्वपूर्ण मानिन्छ । तर, नेपालमा साना तथा छरिएका खेतीयोग्य जमिन, किसानको सीमित क्रयशक्ति, कृषि उपकरणको उच्च लागत र मर्मतसम्भार सेवाको अभावले यान्त्रीकरणको विस्तार अपेक्षित गतिमा हुन सकेको छैन । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय प्रदर्शनीले किसानलाई प्रविधिसँग जोड्नुका साथै स्वदेशी कृषि उपकरण उद्योगको सम्भावना पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

भर्खरै

ट्रेन्डिङ

सम्बन्धित खवर

छुटाउनुभयो कि ?