काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलोे त्रैमास (साउन–असोज) मा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २३ प्रतिशतले बढेको छ ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालु आवको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५४ करोड बीमाशुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२ दशमलव ८२ प्रतिशले वृद्धि हो । गत आवको यसै अवधिमा कम्पनीहरुले १२ अर्ब ६५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
आव २०८१/८२ को तुलनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय आव २०८२/८३ मा ११ दशमलव १४ प्रतिशतले मात्र बढेको थियो । चालु आवमा भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय वृद्धिदर पनि बढेको छ ।
चालु आवमा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी सगरमाथा लुम्विनी जनरल इन्स्योरेन्सले १ अर्ब ८४ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ४८ करोड रुपैयाँ बीमशुल्क उठाएको छ ।
नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री मोटर र इन्जिनियरिङ बीमा बढ्दा समग्र निर्जीवन बीमा व्यवसायमा सकारात्मक प्रभाव परेको बताउँछन् ।
यसैगरी पछिल्लो समयमा भुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण पनि सर्वसाधारणमा बीमाप्रति सचेतना बढेको र यसले पनि व्यवसाय सुधारमा सहयोग गरेको बीमकहरु बताउँछन् ।
सरकारले पनि गत आर्थिक वर्षको जेनजी आन्दोलनपछि सरकारी सम्पतिको बीमा गर्ने घोषणा गरेको छ । यसले पनि बीमाप्रति सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको बीमकहरुको बुझाइ छ ।
प्रतिक्रिया